१४ बैशाख २०८२, आईतवार

अस्ट्रेलियाका राजदूत लिआनद्वारा मध्यपश्चिम विश्वविद्यालयको भ्रमण

कोलोराडोखबर संवाददाता , January 23rd, 2025

नेपाल । माघ ८ गते अस्ट्रेलियाका महामहिम राजदूत लिआन जोनस्टनज्यूले मध्यपश्चिम विश्वविद्यालयको भ्रमण गरी उच्च शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम नेपाल र अस्ट्रेलियाबीचको शैक्षिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण अवसर बनेको छ ।

कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका अध्यक्ष तथा उपकुलपति प्राडा ध्रुवकुमार गौतमज्यूले दुइ देश बीच विदृमान सम्बन्ध र सहकार्यको प्रशंसा गर्दै आगामी दिनमा मध्यपश्चिम विश्वविद्यालय र अस्ट्रेलियाली विश्वविद्यालयहरूबीच थप शैक्षिक साझेदारी विस्तारको आवश्यकता औंल्याउँदै अनुसन्धान र आदानप्रदान कार्यक्रमहरूमा थप सहकार्यका लागि आग्रह गर्नु भएको थियो । साथै, उहाँले महामहिम राजदूतलाई उहाँको भ्रमणका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।

महामहिम लिआन जोनस्टनले अस्ट्रेलिया र नेपालबीचको दीर्घकालीन सम्बन्ध र सहकार्यलाई प्रकाश पार्दै शिक्षा, शासन र सांस्कृतिक आदानप्रदानमा आपसी सहकार्य सम्बन्धी चर्चा गर्नुभएको थियो । उहाँले यो भ्रमण र कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्राडा शोभाखर कँडेलले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । त्यस्तै मध्यपश्चिम विश्वविद्यालय तालिम इकाइका संयोजक उपप्राध्यापक कल्पना पौडेलज्यूले विश्वविद्यालयको संक्षिप्त विवरण, शैक्षिक उपलब्धि, हालका पहल र भावी कार्यक्रमहरूको प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा सेवा आयोगका अध्यक्ष तथा सदस्यज्यूहरू, विभिन्न ग्र्याजुएट स्कुलका डीनज्यूहरू, कार्यकारी निर्देशकज्यूहरु, विभागिय प्रमुख एवं संयोजकज्यूहरू, अस्ट्रेलियन राजदुतावासका प्रतिनिधि, प्राध्यापक तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन रजिष्ट्रार सचिवालयका सदस्य एवं उपप्राध्यापक डा. यदु ज्ञवालीज्यूले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्