३ मंसिर २०८३, बिहीबार

बराह सहकारीका संस्थापक लामिछानेसहित दुई जना पक्राउ, कुल बिगो १० अर्ब ७३ करोड

कोलोराडोखबर संवाददाता , November 19th, 2026

नेपाल । बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा ठगी गरेको आरोपमा फरार रहेका संस्थाका संस्थापक शिवकुमार विश्वकर्मा (लामिछाने) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बराह सहकारीका संस्थापक ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) र संस्थाको ऋण उपसमिति सदस्य र ग्राहक सेवा (कस्टमर केयर) मा कार्यरत ३३ वर्षीया अस्मिता भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका १२ जन्मस्थान भई हाल काठमाडौं महानगरपालिका–२२ बस्दै आएका विश्वकर्मा र धरान उपमहानगरपालिका–१५ निवासी भण्डारीलाई सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ ।

बराह सहकारीको मुख्य कार्यालय सुनसरीको धरानमा रहेको र संस्थासँग आबद्ध भएर नेपालमा ३० वटा तथा विदेशमा चारवटा कम्पनी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको विज्ञप्तिमा उल्लेख छ । कम्पनी तथा सहकारीसँग सम्बन्धित कारोबारका क्रममा बचतकर्ताले जम्मा गरेको रकम अपचलन तथा ठगी भएको आरोप छ ।

१७ हजार १० जना बचतकर्ता पीडित रहेको र शङ्कर थापासहित चार हजार २४३ जनाको जाहेरीका आधारमा नेपाल सरकार वादी भई मुद्दा अघि बढाइएको छ ।

प्रहरीका अनुसार उक्त मुद्दामा कुल बिगो १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपियाँ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्