-लक्ष्मण आचार्य-
यतिबेला
आकाश शुन्य छ
हराएका छन् चराका बथानहरू
हराएर प्रकृतिका स्वरूपहरू
देखिदै छन्
बादलका हुलहरू
त्यसो त अक्सर यहाँ
केही न केही हराइरहन्छन्
जस्तो कि
स्कुल गएको बालक हराउँछ
मुग्लान भासिएको पतिको
स्मृतिमा हराउँछे कुनै प्रेमिका
यादहरूको बल्छी
गाडेर मौन तलाउमा
हराउँछ कुनै जून
जस्तो कि गीत हराएर
मात्र गुञ्जिन्छ कुनै धुन
भेटिनलाई आफैभित्र नभेटेर
कुनै प्रिय भेट
उचाइमा उक्लिन हिँडेको
कुनै यात्री हराउँछ
जस्तो कि रातमा
हराउँछ छाया
उज्यालोको सघन
प्रकाशमा हराउँछ
कुनै शीतल चौतारी
त्यसो त
हराइरहेछन् हिजोभन्दा आज
जुनकीरीका हुलहरू
त्यसो त दिनानुदिन हराइरहेछन्
जङ्गलबाट रुखहरू …
उमारेर धर्तीको क्रक्रिट छातीमा
हरियाली हराएकै छ
हिजोभन्दा हराइरहेकै त छन्
झिसमिसेमा चिरबिराउने चराका चिरबिरहरू
हिमालमा हिउँ हराएर
क्रमश: हिमालहरू बामपुड्के भइरहेछन्
समुद्रको गर्भमा हराएर जलचरहरू
लेख्दै छन् हराइ जानेका कथाहरू
लाग्छ अब हराउँदै जाँदा
कुनै दिन हराइ जाने छ
प्रिय कविता जस्तो यो धर्ती पनि
प्रिय मानिस !
हराउनुअघि यो सभ्यता
अवश्य लेखिदिनु बाँच्नेहरूको कथा ।
-चन्द्रपुर, रौटहट ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्