८ चैत्र २०८२, आईतवार

लघुकथा: पाठक

कोलोराडोखबर संवाददाता , March 21st, 2026

-आरसी रिजाल-
म सानो छँदा बाआमाले –” ए तँलाई केही थाहाछैन ” भन्दै हकार्नु हुन्थ्यो । केटाकेटी उमेर होला भनेर चुपो लाग्थेँ। जवानिमा बिहे भयो। बिबाहको केही बर्षपछि श्रीमतीले पनि –” तपाईलाई केही थाहाछैन ” भन्दै जवाफ फर्काउन लागिन्।

वास्तवमा म अज्ञानी नै हुँ कि जस्तो लाग्थ्यो। ऎले आएर छोराबुहारीले– ” तपाई बूढो हुनुभयो। संसार कहाँबाट काँ पुगिसक्यो। तपाईलाई केही थाहाछैन ” भन्न लाग्याछ्न।

यसो घोत्लिन्छु — यस्ता कुरा पत्याउने हो भने मैले थाहा पाउने कहिले ? के म थाहै नपाई मर्ने भएँ त ? त्यस्तो पटक्कै होईन। मैले भोगेको जिन्दगी मलाई थाहा छ।मेरो अनुभवमा बुढेसकाल यस्तो अवस्था हो — जुन मान्छेसँग हरेक प्रश्नको उत्तर हुन्छ। तर प्रश्न सोध्ने कोहि हुँदैन । वास्तवमा हामी त बिशेष किताब हौँ — जसको पानामा सीप, ज्ञान , अनुभव आदि लेखिएको हुन्छ । तर पाठक हुँदैन।…

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्