नेपाल । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार भारत जाने भएका छन् ।
नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी भारत प्रस्थान गर्न लागेका हुन् । उनको सचिवालयका अनुसार समिटमा भट्टराई ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुनेछन् ।
उक्त समिट भारत मण्डप नयाँदिल्लीमा मार्च १२, १३ र १४ मा आयोजना हुँदैछ । आयोजकका अनुसार सम्मेलनमा विश्वभरका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्धजस्ता समसामयिक विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ ।
सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने यस सम्मेलनलाई वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको आयोजकले जनाएको छ ।
भट्टराईले मार्च १४ मा ‘डेमोक्रेसी इन द एज अफ एआईः डिजिटल गभर्नेन्स एन्ड द युथ’ शीर्षकको सत्रमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
समिटमा सहभागिता जनाएपछि भट्टराई सोही दिन (मार्च १४) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्