नेपाल । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडामा भएको भीषण बस दुर्घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
सोमबार बिहान पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ भने २५ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले सहसचिवको नेतृत्वमा छानबिन कार्यदल गठन गर्ने निर्णय गरेको हो । बैठकमा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक र यातायात व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
छानबिन कार्यदललाई दुर्घटनाको कारण पत्ता लगाई यथाशीघ्र प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, दुर्घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको समन्वयमा उद्धार कार्यलाई तदारुकताका साथ अगाडि बढाइएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्