२ फाल्गुन २०८२, शनिबार

कविता: झिँगा

कोलोराडोखबर संवाददाता , February 14th, 2026

-लक्ष्मण आचार्य-

महोदय !
तपाईंले याद गर्नुभएको छ
एउटा कुरा ?
देख्नुभएको छ ?
सत्ता वरिपरि भुनभुनाइरहेका झिँगा ?

झिँगा
आफूलाई कत्ति फोहोरी छु भन्दैन
ऊ त हरहमेसा भन्छ, भनिरहन्छ
म फूलबारीमा पो बसेको हुँ
भर्खर भर्खर नयाँ अवतार लिएर
धर्तीमा खसेको हुँ
आज पनि झिँगा
झण्डा बोकेर उडिरहेछ
घोषणापत्रमा बसिरहेछ
टेलिभिजनको स्क्रिनमा भुनभुन गर्दै छ
फेसबुक, इस्टा र टिकटकका
डिपफेकहरूमा आफ्नो उडान भरिरहेछ
एउटा झिँगा

मन्त्रीजीको कानमा बस्छ र भुनभुन गर्दै
सत्ताको सुराक गर्छ
अर्को
नेताको नाकैमा टाँसिन्छ र
कमिसनमा आँखा लगाउँछ
ठेक्का, कमिसन र सहमति
योजना, बजेट अनि कार्यविधि
जताततै झिँगा भुनभुन गरिरहेकै छ
स्पष्ट छ झिँगाको धर्म
जता जतै फोहोरी मिटिङ गर्दै हिँड्छ

राम्रो अब्बल कुराहरूलाई पनि कुहाउँछ
महादेवले बोकेको मृत सतिदेवीको शरीरमा झै
अ‍ौँसा पार्छ
प्राय: अङ्ग अङ्ग पतनको खेती गर्छ

स्थापना गर्छ एक एक शक्तिपीठहरू !

झिँगा
हिजो दरबारमा थियो
बहुदलमा थियोे
आज
गणतन्त्रमा बसेको छ
भोलि क्रान्तिमा बस्ला
पटकपटक फेरिए व्यवस्थाहरू
पटकपटक भए आन्दोलनहरू
पटकपटक भए मोर्चाबन्दीहरू
तर
फोहोरी झिँगाको स्वभाव
कत्ति फेरिएको छैन
रत्तिभर बद्लिएको छैन
आज पनि
जनता हात हल्लाउँदै
त्यस्तै झिँगा भगाउन खोजिरहेछन्
थपडी बजाउँदै झिँगामुक्त
देशको कामना गरिरहेछन्

यतिखेर
कुहिएको मासु बोकेर
आफैंलाई विज्ञापित गर्दै
सडकमा बग्रेल्ती हिँडिरहेछन्
अङ्गुलीमालहरू
गाउँ, बस्ती र सहरका गल्लीमा
सल्बलाइरहेछन् झिँगाहरू
र स्वयम् आफैंलाई भनिरहेछन्
हामी समस्या होइनौं
हामी त शासनको सुन्दर स्वरुप हौं
हामी त शासनको सुन्दर अवतार हौं
हामी त कर्मशील
कर्मी मौरीहरू हौँ ।

चन्द्रनिगाहपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्