२० फाल्गुन २०८२, बुधबार

रवीन्द्र मिश्र र धवलशमशेरसहित ११ जनाविरुद्ध राजद्रोहको अभियोग

कोलोराडोखबर संवाददाता , March 31st, 2025

नेपाल । राजावादी समूहले शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाएको आरोपमा पक्राउ परी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ११ जनाविरुद्ध राजद्रोह तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान सुरु भएको छ ।

जिल्ला अदालत काठमाडौँले मिश्र, राणासहित ११ जनामाथि राजद्रोहको कसुर तथा अन्य ३० जनाविरुद्ध आपराधिक उपद्रव तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो  । न्यायाधीश तारादेवी महर्जनको इजलासले म्याद थप गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शान्तिपूर्ण भनिएको प्रदर्शन आगजनी, तोडफोड र लुटपाटमा परिणत भई हिंसात्मक बनेपछि प्रदर्शनकारीले लगाएको आगोमा परी टेलिभिजन पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । सो घटनामा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरी ठुलो भौतिक क्षति गराइएको छ । हिंसात्मक प्रदर्शनमा संलग्न अन्य ३१ जनालाई आपराधिक उपद्रवको कसुरमा अदालतबाट म्याद थप भई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीपरिसर काठमाडौँको हिरासतमा रहेका ४१ जनालाई आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत अदालतमा पेस गरेको थियो ।

यता, राजावादीको आन्दोलनमा सहभागी भई कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्