२० फाल्गुन २०८२, बुधबार

विवाह गर्ने उमेर घटाउनुपर्ने विषय फेरि उठ्यो, २० वर्षबाट १८ वर्षमा झार्न सुझाव

कोलोराडोखबर संवाददाता , March 24th, 2025

नेपाल । संसदीय समितिमा विवाह गर्ने उमेर घटाउनुपर्ने विषय फेरि उठेको छ ।

यसअघि प्रतिनिधिसभाको कानून समितिले गरेको अध्ययन र सरकारले बनाएको कार्यदलले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्षमा झार्न सुझाव दिएकामा कतिपयले घटाउन नहुने तर्क गर्दै आएका छन् । तर कानून समितिका सांसदहरूले फेरि उमेर घटाउनुपर्ने विषय उठाएका हुन् ।

सांसदहरू नागिना यादव, रञ्जुकुमार झा, पूर्णबहादुर घर्ती लगायतले विवाहको उमेर घटाउनुपर्ने बताएका छन् । सांसदहरूको कुरा सुनेपछि गृहमन्त्री रमेश लेखकले पनि आफू विवाह गर्ने उमेर घटाउनुपर्ने पक्षमा रहेको बताउनुभयो ।

मन्त्रिपरिषद्मा बालबालिकासम्बन्धी ऐन छलफलकै क्रममा रहेको भन्दै गृहमन्त्री लेखकले विवाह गर्ने उमेर २० बाट १८ वर्षमा झार्ने कि रोमियो जुलिएट ल प्रयोग गर्ने भन्ने रहेको बताउनुभयो । रोमियो जुलिएट ल अनुसार १६ देखि १८ वर्षको बीचमा प्रेम सम्बन्धमा रहेका युवायुवतीको शारीरिक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न नमिल्ने उहाँको भनाइ छ ।

मुलुकी देवानी संहिता २०७४ ले महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ । तोकिएको उमेर नपुगी बालविवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरीवानाको सजाय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्