कविता: अर्थान्तरण समय
-लक्ष्मण आचार्य-
समयको चुल्ठो निमोठेर
समग्र व्यवस्थाको ऐँजेरु मठारेर
उपस्थित छ वर्तमान
तिम्रो घर, आँगन खलियान
गाउँ, गोठ र मचानसम्म
उदाङ्गिएर सत्ताको सर्वाङ्ग रुप
समय आफ्नो भएर उपस्थित हुँदा
यतिखेर सपनाको फॉट
साँच्चै सुन्दर र आत्मीय भएको छ
X X X
म हिजो तिम्रा निम्ति लेख्थेँ
कामनाका कविताहरु
आकाङ्क्षाका आव्हानहरु
आशाका भविष्यहरु
हाम्रा सुन्दर सपनालाई कोतरेर
आफैलाई थिचिइरहको समय विरुद्ध
म सधैँ अग्रपङ्तीमा उभिन खोज्थेँ
चेतनाको मशाल बाल्न खोज्थेँ
अब तिमी मेरै आँगनमा आत्मीय भएर उभिँदा
प्राप्तिको फूल फुले झैँ लागेको छ
X X
थुप्रै यात्राहरू
लक्ष्यको थुम्कोसम्म नपुगेरै
विलय भएका बिहानहरु छन्
उपलब्धिहरू/ परिवर्तनहरू
गाउँघर, गोठ र चोकसम्म नभित्रिएरै
पराजय भएका इतिहाहरु छन्
जूनलाई छुन खोज्ने
घामझैँ बल्न खोज्ने
आगोझैँ न्यानो र फूलझैँ प्यारो
विगतमा तुहिएका विश्वासहरु...







