५ कार्तिक २०८३, बिहीबार

चिकित्सा शिक्षा आयोगको निर्णय खारेज गर्न डा. गोविन्द केसीको माग

कोलोराडोखबर संवाददाता , October 22nd, 2026

नेपाल । प्राडा गोविन्द केसीले पूर्वाधार र कानूनी मापदण्डबिना एमबीबीएस लगायतशैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने र सिट वृद्धि गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय खारेज गर्न माग गरेका छन्।

विज्ञप्ति जारी गरी केसीले आयोगका उपाध्यक्ष र मेडिकल विश्वविद्यालयका पदाधिकारीहरूको स्वार्थको द्वन्द्व देखिएको आरोप लगाएका छन्।

आयोगका उपाध्यक्ष पूर्व सम्बद्ध रहेको नेपाली आर्मी मेडिकल कलेज लगायतका संस्थामा सिट वृद्धि गरिएको, नियमविपरीतगेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस र नर्सिङ कार्यक्रम चलाउन अनुमति दिएको भन्दै यसले चिकित्सा शिक्षाको गुणस्तर खस्किने र जनस्वास्थ्यमाथि खेलबाड हुने दाबी गरेका छन्।

उनले सुदूरपश्चिमवासीलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन निर्मित गेटा शिक्षण अस्पताललाई अझै पूर्ण क्षमतामा सञ्चालन नगरी निजी मेडिकल कलेज तथा स्वार्थ समूहलाई लाभ पुग्ने गरी शैक्षिक कार्यक्रम शुरु गर्न हतार गरेको उल्लेख छ।

डा. केसीले २०८३ साउन ११ गते २४औँ सत्याग्रहका क्रममा सरकारसँग भएको सहमतिको झण्डै तीन महिना बितिसक्दा पनि कार्यान्वयन नगरी त्यसको प्रतिकूल हुने गरी निर्णयहरू गरिएकोमा उनले सरकारको उदासीनताप्रति कडा आपत्ति जनाए।

केसीले एक साताभित्र माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम शुरु गर्ने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्