अमेरिका । बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखिएको छ। शनिबार देशका विभिन्न शहरहरूमा प्रदर्शन र प्रहरीसँग झडप भएको हो। झडपपछि एक हजार जनालाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले जनाएको बीबीसीले जनाएको छ।
दिनभर प्रायः शान्तिपूर्ण रहेका जुलुसहरू साँझपख हिंसात्मक बन्न पुगेका थिए। पेरिस, मार्से, लियों, बोर्डो र क्लेरमोन्ट–फेरान्डजस्ता प्रमुख शहरहरूमा प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबीच तीब्र झडप भए। भिडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।
समाचार अनुसार फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर करिब ४ लाख १० हजार मानिस प्रदर्शनमा उत्रिएका थिए। यद्यपि, ट्रेड युनियनहरूले भने यो सङ्ख्या ८ लाखको हाराहारीमा रहेको दाबी गरेका छन्।
अघिल्लो साता भएका लुटपाट, तोडफोड र आगजनी दोहोरिन नदिन सरकारले देशभर ७० हजार प्रहरी तथा विशेष सुरक्षा बल तैनाथ गरेको थियो। राष्ट्रपति इम्यानुएल म्याक्रोनले यो साता मान्यता प्राप्त ट्रेड युनियनहरूले आयोजना गरेका प्रदर्शनलाई मात्र अनुमति दिइने घोषणा गरेका थिए।
दक्षिणी सहर मार्सेमा प्रदर्शनकारीहरूले फोहोरका डब्बाहरूमा आगो लगाएर सडक बन्द गरेका थिए। बोर्डो शहरमा पसलका काठका फ्ल्याकहरू उखेलेर बारिकेड बनाइएको थियो भने लियोंमा निषेधित क्षेत्रमा भेला भएका १५० भन्दा बढी विद्यार्थीमाथि प्रहरीले लगत्तै अश्रुग्यास प्रहार गरेको थियो।
फ्रान्सको आगामी राष्ट्रपति निर्वाचन आउन ६ महिना मात्र बाँकी रहँदा विपक्षी दलहरूले यो अशान्तिको सम्पूर्ण जिम्मेवारी राष्ट्रपति म्याक्रोन र उनको मन्त्रिमण्डलले लिनुपर्ने बताएका छन्। शनिबार फ्रान्सबाहेक अल्बानियाको तिराना, बेल्जियमको ब्रसेल्स र इटलीको मिलानमा पनि महँगीविरुद्ध प्रदर्शनहरू भए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्