११ कार्तिक २०८३, बुधबार

विगतमा भएका कमजोरी स्वीकार्दै पार्टीलाई नयाँ दिशामा लैजान्छौंः सभापति थापा

कोलोराडोखबर संवाददाता , October 28th, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतमा भएका कमजोरी स्वीकार्दै नयाँ दिशामा पार्टीलाई लैजाने उल्लेख गर्नुभएको छ । एक सय १३ औँ विपी जयन्तीको अवसरमा विपी स्मृति पुस्तकालय, गण्डकी प्रदेशले मङ्गलबार पोखरामा आयोजना गरेको कार्यक्रममा सभापति थापाले सो धारणा राख्नुभएको हो ।

देशकै पुरानो पार्टी कांग्रेसले विगतको कुरामात्र नगरी वर्तमानका समस्या समाधान गर्दै सुन्दर भविष्यको सपना पनि साकार पार्ने उहाँको भनाइ छ । “हामी हिजोका कुरामात्र गर्दैनौँ, आजका समस्या पनि समाधान गर्न सक्छौँ । विगतमा केही कुरामा कमजोरी भएका छन्,” सभापति थापाले भन्नुभयो, “कमजोरीबाट भाग्ने होइन, स्वीकार्दै सच्च्याउँदै जान्छौँ ।”

विगतमा सुशासन कायम गर्ने र सत्तामा जाने विषयमा पार्टीबाट कमजोरी भएको उहाँले उल्लेख गर्नुभयो । महाधिवेशनबाट आएको नयाँ नेतृत्वसँग प्रजातन्त्र जगाउँदै जनताले खोजेको परिवर्तन निश्चित गर्ने तागत भएको उहाँको दाबी छ । अब टिकट वितरण माथिबाट नहुने जनाउँदै उहाँले जनतासम्म पुग्न नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो ।

“म एक जना पनि केन्द्रीय सदस्यलाई काठमाडौँ बस्न दिन्नँ । सबैलाई तल पठाउँछु,” उहाँले भन्नुभयो, “यो पटक उम्मेद्वार माथिबाट होइन, तलैबाट आउँछ । पोखरा महानगरको उम्मेदवार यहाँबाट छानिन्छन् ।”

सभापति थापाले महाधिवेशनको आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीलाई बलियो बनाउने गरी लाग्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय दुई लाख परिवारले कांग्रेसको साथ छाडेको औंल्याउँदै उहाँले ती टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न विशेष संवाद अभियान चलाउने योजना सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्