२८ बैशाख २०८१, शुक्रबार

गोकर्ण रिसोर्टको तामझामपछि प्रधानमन्त्रीलाई खुल्लापत्र !

कोलोराडोखबर संवाददाता , December 17th, 2023

–नरेन्द्रजंग पिटर–
अध्यक्ष प्रचण्ड, तपाईंले गोकर्ण रिसोर्टमा नातिनीको तामझाम प्रदर्शन विवाह आयोजन गरेर गलत सन्देश दिनु भो, गलत गर्नु भो । पार्टी सुप्रिमोको हैसियतले, प्रधानमन्त्रीको हैसियतले, जनयुद्धको पहिलो पंग्तीको सबभन्दा अगुवा कमाण्डर, परिकल्पनाकारको हैसियतले गोकर्णबाट दिन खोज्नु भएको सांस्कृतिक र सामाजिक सन्देश गलत छन ।

समयको चयन अझ गलत छ । जाजरकोट र रुकुममा देशले ब्यहोरिरहेको प्राकृतिक विपत, तराईमा सितलहरको चिसोले कठ्याङ्गृएर मृत्यूबरन, कार्यकर्ताहरू रूपान्तरणमा देशव्यापी खटिरहेको अवस्था, विराधी र दुश्मनको घेराबन्दीमा परिरहेको अवस्था, आम जनतामा राजनीति प्रति निराशा र वितृष्णा पलाइरहेको अवस्था, नेताप्रति आक्रोशका अनेकौं रुप र चरित्र सडकमै छताछुल्ल भएको अवस्थामा गोकर्णको कलाविहीन नाटकले तपाईँलाई दीर्घकालीन असर परिरहनेछ ।

तपाई स्वयंले आलोचना, विरोध र उछितो खन्ने शीर्षक दिनुभयो । जनयुद्धले नेपाली जनतालाई प्रशिक्षित गरेको विषय–कसले के भन्छ भन्दा पनि कसले के गर्छ ? कथ्यलाई तथ्य र तर्कसँग जोडेर अनिमात्रै विश्वास गर भन्ने हो । अभिजातको सूकृति, सोच र सौन्दर्यलाई जुनदिन कम्युनिष्टले आत्मसात गर्छ त्यसदिनदेखि नै उ पतनको बाटो समात्छ भन्ने हो । अरुले कम्युनिष्टलाई ध्वस्त गर्नै सक्दैनन, आफूले गर्ने ध्वस्ततालाई बचाउने कुनै महाङ्काल भगवान आई पुग्नेछैनन,पशुपति त टुलुटुलु हेरिरहनेछ ।

पशुपतिले राजतन्त्र बचाएन । अभिजातको नक्कल गर्ने बित्तिकै अभिजातले तपाईलाई आत्मसात गर्दैनन । तपाईँका निम्त्यालु र भतेरे नै अहिले आलोचक बनेर देखाइसकिए । भन्नुस् त अध्यक्षज्यू–गोकर्णबाट दिन चाहनुभएको राजनीतिक, आर्थिक, कूटनीतिक, सामाजिक र सांस्कृतिक सन्देश के हो ?
(राजनीतिक विश्लेषक पिटरको विचार सामाजिक सञ्जालबाट साभार ।)

प्रतिक्रिया दिनुहोस्