३० भाद्र २०८१, आईतवार

यसरी ब्रेक गरियो पत्रकार हत्याको त्यो समाचार

कोलोराडोखबर संवाददाता , May 27th, 2024

–किशोर श्रेष्ठ–
२०५९ साल जेठ अन्तिम साताको कुरा हो । मंगलबार राती हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो,–कृष्णलाई मार्यो नि,
‘को कृष्ण ?’– उसले डिटेलमा भन्न सकेन ।

संकटकालको बेला थियो–सेना,प्रहरी सबैले प्रेसलाई सताइराखेको अवस्था । दरबार हत्याकाण्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको बर्ष दिन पुग्दै थियो । हामीलाई यसरी सूचना दिने ब्यक्ति कृष्ण सेन मारिएको ठाँउका प्रत्यक्षदर्शीमध्येकै ।

फोन आएपछि यस विषयमा छलफल गर्यौँ । तर कन्फ्युजन भयो । मारिएका ब्यक्तिको नाम कृष्ण मात्रै भनिएको थियो । जबकि पक्राउ परेका दुई जना थिए । कृष्णध्वज खड्का (हाल सञ्चार मन्त्री रेखा शर्माका पति) र अर्का कृष्ण सेन इच्छुक । हामीले यो हप्ता विस्तृत सूचना पाउन नसकेपछि समाचार लेखेनौं । अर्को हप्ता सोमबार फेरि फोन आयो । स्रोतले भन्यो–तपाईंहरु समाचार छाप्न डराउनु भएछ यार ।

हामीले भन्यौं,किन डराउनु र को कृष्ण हो, डिटेलमा भन्नु पर्यो नि,

उसले भन्यो, त्यो पत्रकार कृष्ण के त, यसपछि भने मारिने ब्यक्ति कृष्ण सेन इच्छुक नै रहेछन् भन्ने पक्का भयो । उनलाई जेठ ६ गते प्रहरीले पक्रिएको थियो । त्यो घटना थियो जेठ १३ गतेको । घटना के हो भनेर सोध्दा स्रोतले भन्यो,–बसेर केरकार गर्दागदै ढल्यो । औषधी नियमित खानुपर्ने उसलाई मुटुको रोग पनि रहेछ । औषधी पनि खान नपाएको, अलिअलि गर्दागदै ढल्यो । कृष्ण सेनको हत्या हुँदा त्यहाँ को–को थिए रु यो प्रश्नमा स्रोतले भन्यो, तत्कालीन भ्याली डिआइजी,नगर प्रहरीका इन्चार्ज र ज्याङगो ज्यान भएका इन्स्पेक्टर कमल खाँड । उनीहरुले नै कुटेर मारेका हुन् ।

अनि लाशलाई के गरे त ?
पिकअप गाडीमा हालेर लगे र विष्णुमतीतिर सेलाए । पोल्नुभन्दा पहिला इन्काउन्टरमा मारिएको भन्ने पार्नलाई छातीमा दुईवटा गोली हानेर मुचुल्का बनाए । स्रोतले यस्तो जानकारी दिएपछि हामीले ०५९ असार १२ गतेको जनआस्था साप्ताहिकमा ‘कृष्ण सेन पशुपतिमा खरानी’ शीर्षकमा अलविदा कृष्ण सेन भनेर लेख्यौं । कृष्ण सेन मेरा पनि साथी थिए । म पत्रकार महासंघमा महासचिव उठ्दाखेरि महेश्वर दाहाल केन्द्रीय सदस्यका उम्मेदवार । हामीबीच संयुक्त प्यानल बनाउँदा कृष्ण सेन पनि सँगै थिए ।

समाचार लेख्ने बेलामा मैले तत्कालिन भ्याली डिआइजीलाई पनि पुस्ट्याइँको निम्ति सोधेँ । उनले भाइ,लेख्नचाहिँ नलेख्नुहोस्, तर अलिअलि तीतोमीठो गर्दागर्दै गयो क्या भने । अर्को हप्ता फलोअप स्टोरी गर्ने क्रममा फेरि पुरानो स्रोतलाई सोधियो,आखिर सेनलाई कसरी मारियो ? स्रोतले भन्यो,तिनै डिआइजीले कृष्ण सेनलाई सोधे,ल भन् ‘तँ ठकुरी,म पनि ठकुरी,राजा त झन ठकुरी,तैँले के ठानेको छस् र के गर्न सक्छस् ?’ कृष्ण सेन त्यत्ति बोलिराखेका थिएनन, कमजोर थिए । त्यही क्रममा सानो कोठामा लगेर भाक्कभुक्क हिर्काउँदा हिर्काउँदै मरिहाले ।

सेनको हत्यासम्बन्धी समाचार आएपछि गृहमन्त्रालयले यसबारेमा छानविन गर्न गुप्तचर उपप्रमुख श्रीपुरुष ढकाल (पछि लोकसेवा आयोग सदस्य) को नेतृत्वमा टिम बनाएको थियो । डा।हरिहर वस्तीले पोष्टमार्टम गरेको भन्ने उसको रिपोर्ट छ । मंगोलियन अनुहारको,यति उमेरको मान्छे गोकर्णको जंगलमा इन्काउन्टरमा मारिएको भन्ने निचोड छ उक्त आयोगको । कृष्ण सेनको समाचार लेखेपछि जनआस्थामाथि चर्को प्रहार भयो ।

त्यतिबेला देवेन्द्रराज कँडेल गृहराज्यमन्त्री थिए । देउवा प्रधानमन्त्री । हिरासतमा भएको मान्छेलाई मारेको भनिसकेपछि उनीहरुलाई सिपीजेबाट चर्को दबाब आयो । पत्रकार गोपाल बुढाथोकीलाई पनि त्यही बेला सेनाले अपहरण गरेको थियो । मैले भागीभागी हिंड्नुपरेको थियो । तात्कालिन प्रधानसेनापति प्रज्वलसमशेरको समाचार लेख्दा मलाई पक्राउ पनि गरियो । तत्कालीन सेनापति प्रज्वल समशेरसँग मेरो झगडै भयो,उनले तँलाई सुट गर्छुसम्म भने । पञ्चायतमा विमर्श साप्ताहिकबाट शासकहरुलाई जस्तो अप्ठयारो थियो,त्यसपछि लगातार जनआस्थाबाट उनीहरु त्यसैगरी आत्तिएको अवस्था थियो ।

(जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको फेसबुकबाट साभार ।)

प्रतिक्रिया दिनुहोस्