नेपाल । प्रधानमन्त्री वालेन्द्र साह बालेनले काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
यमपञ्चकको पहिलो दिन तथा काग तिहारका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नेपाली संस्कृति, परम्परा र पशुपन्छीप्रतिको आत्मीयताको चर्चा गरेका हुन्।
कागलाई यमराजको दूत मानिने धार्मिक विश्वास उल्लेख गर्दै प्रधानमन्त्री शाहले कागलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्परा रहेको बताएका छन्। आधुनिक सञ्चारको विकास नहुँदा काग कराउँदा कतैबाट समाचार वा पाहुना आउन लागेको संकेतका रूपमा लिने गरिएको विश्वाससमेत उनले स्मरण गरेका छन्।
उनले परिवारका सदस्यका नाममा यम दीपदान गर्ने परम्पराको चर्चा गर्दै यमराजलाई डरको प्रतीकका रूपमा मात्रै नभई न्यायको प्रतीकका रूपमा पनि बुझ्नुपर्ने बताएका छन्। यमराजले दुष्कर्म गर्नेलाई दण्ड र सत्कर्म गर्नेलाई संरक्षण गर्ने धार्मिक विश्वास रहेको उनको भनाइ छ।
धन्वन्तरी जयन्तीका अवसरमा आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै प्रधानमन्त्री शाहले सबैमा निरोगी जीवनको कामना गरेका छन्।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्