नेपाल । नेपाल भ्रमणमा रहनुभएका स्वीट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजलाई सभामुख डोलप्रसाद (डीपी) अर्यालले शुक्रबार बिदाइ भेट गर्नुभएको छ।
गत कात्तिक १६ गते सभामुख अर्यालको निमन्त्रणामा ६ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउनुभएका अध्यक्ष पेजसँगको भेटमा सभामुख अर्यालले भ्रमण सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपाल र स्वीट्जरल्यान्डबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमणले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले यस उच्चस्तरीय भ्रमणले नेपाल–स्वीट्जरल्यान्ड सम्बन्धमा नयाँ आयाम थपेको उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, आर्थिक सहकार्य, सङ्घीय शासन प्रणालीको सुदृढीकरण तथा जलवायु परिवर्तनका चुनौती सामना गर्ने विषयमा दुई देशबीच सहकार्यका थप अवसर सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा अध्यक्ष पेजले नेपाल भ्रमण गर्न पाएकोमा खुसी व्यक्त गर्दै भ्रमणका क्रममा प्राप्त आत्मीय स्वागत, आतिथ्यता र विभिन्न भेटघाट तथा अवलोकनबाट आफूहरू प्रभावित भएको बताउनुभयो। भ्रमणले नेपाल र स्वीट्जरल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्ध तथा संसदीय सहकार्यलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने उहाँको विश्वास थियो।
नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डलले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटघाट गर्नुभएको थियो । यस्तै, पाटन सङ्ग्रहालयमा आयोजित फोटो प्रदर्शनीको सम्माननीय सभामुख अर्याल र राष्ट्रिय परिषद्का अध्यक्ष पेजले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो।
प्रतिनिधिमण्डलले नेपाल–स्वीट्जरल्यान्ड संसदीय मैत्री समूहका सदस्यहरू तथा सङ्घीय संसद्का दुवै सदनका पाँचवटा विषयगत समितिका सभापतिहरूसँग पनि छलफल गरेको थियो। यसै क्रममा सभामुख अर्यालले स्विस प्रतिनिधिमण्डलको सम्मानमा विदाई दिवाभोजको आयोजना गर्नुभएको थियो।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले काठमाडौं उपत्यकाका ऐतिहासिक तथा धार्मिक सम्पदास्थल बौद्धनाथ र पाटन दरबार क्षेत्रको अवलोकन गरेको थियो। साथै, हालै त्रिशूली ९भोटेकोशी० नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका क्षेत्रको समेत अवलोकन गरेको थियो।
नेपाल र स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा भएको यस भ्रमणलाई द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। यसअघि सन् २०१० अक्टोबर ३१ देखि नोभेम्बर ५ सम्म स्वीट्जरल्यान्डको राष्ट्रिय परिषद्का तत्कालीन अध्यक्षको नेतृत्वमा नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण गरेको थियो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्