२१ आश्विन २०८३, बुधबार

ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोको वार्षिक भलिबल प्रतियोगिताको उपाधि खुकुरी टिमलाई

कोलोराडोखबर संवाददाता , October 7th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपालीभाषी भुटानी समुदायको सक्रिय संस्था ग्लोबल भुटानीज कम्युनिटी कोलोराडो (GBCC) ले आयोजना गरेको वार्षिक भलिबल प्रतियोगिता भव्य तथा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

नेपालीभाषी भुटानी समुदायबीच एकता, आपसी सद्भाव र भाइचारा कायम राख्नुका साथै खेलकुदमार्फत समुदायलाई थप एकताबद्ध गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा कोलोराडोमा रहेका विभिन्न छ वटा टोलीले सहभागिता जनाएका थिए।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो। पूल ‘ए’ मा खुकुरी, सीएनटी (CNT) र केसीएससी (KCSC) रहेका थिए भने पूल ‘बी’ मा युंगस्टार एफसी (Youngstar FC), लिबर्टी होम केयर (Liberty Home Care) र चर्च टिम (RIM) रहेका थिए। समूह चरणका खेलहरूमा सबै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

समूह चरणपछि भएको सेमिफाइनलमा केसीएससी र युंगस्टार एफसी तथा खुकुरी र चर्च टिम (RIM) बीच कडा र प्रतिस्पर्धात्मक खेल भएको थियो। दुवै खेलमा खेलाडीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए। रोमाञ्चक प्रतिस्पर्धाबाट खुकुरी र केसीएससी फाइनलमा प्रवेश गरेका थिए।

प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको फाइनल खेलमा खुकुरी र केसीएससीबीच अत्यन्तै रोमाञ्चक तथा कडा प्रतिस्पर्धा भएको थियो। सुरुदेखि नै दुवै टोलीबीच प्रत्येक अंकका लागि तीव्र प्रतिस्पर्धा देखिएको थियो। खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र दर्शकहरूको उत्साहपूर्ण समर्थनले फाइनल खेललाई थप रोमाञ्चक बनाएको थियो।

अन्ततः उत्कृष्ट प्रदर्शन गर्दै खुकुरीले केसीएससीलाई पराजित गर्दै GBCC वार्षिक भलिबल प्रतियोगिता–२०२६ को उपाधि जित्न सफल भयो। खुकुरी प्रथम हुँदा केसीएससी उपविजेतामा सीमित भयो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिने ‘म्यान अफ द टुर्नामेन्ट’ को उपाधि भने विजेता टोली खुकुरीका खेलाडी दिपेश क्षेत्री घोषित भए। प्रतियोगिताभर उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका क्षेत्रीले उक्त सम्मान प्राप्त गरेका हुन्।

विजेता टोलीलाइ १ हजार दुइसय १ तथा उपविजेता टोलीलाई ८ सय ५१ डलर नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो GBCC मिडीया संयोजक हेम गरीले बताएका छन् । प्रतियोगिताका क्रममा नेपालीभाषी भुटानी बालिकाहरूबीच आयोजित प्रदर्शनात्मक खेल (Exhibition Game) ले समेत कार्यक्रमको आकर्षण बढाएको थियो।

कार्यक्रमको उद्घाटन आयोजक समितिका अध्यक्ष प्रो. चुडा बरालको सभापतित्वमा भएको थियो। कार्यक्रममा समुदायका अगुवा, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अतिथिका रूपमा केदार खतिवडा, कलाकार नवराज श्रेष्ठ, रघु धौराली, साथै डेनभर सिटी तथा काउन्टीबाट स्टेफनी लेइङ (Stephanie Laing) र Rocky Mountain Friends बाट हरि गुरुङ लगायतको उपस्थिति रहेको थियो।

आयोजक समितिका खेलकुद संयोजक ओम ढुङ्गेलले प्रतियोगिताले कोलोराडोमा नेपाली समुदायको खेलकुद तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्नुका साथै नयाँ पुस्तालाई समुदायसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

GBCC को वार्षिक भलिबल प्रतियोगिता–२०२६ ले समुदायबीचको एकता, आपसी सद्भाव र खेलकुदप्रतिको उत्साहलाई थप उजागर गरेको छ। प्रतियोगितामा देखिएको उत्साहपूर्ण सहभागिताले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक र व्यवस्थित रूपमा निरन्तरता दिन थप प्रेरणा मिलेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्