१७ आश्विन २०८३, शनिबार

कविताः हाम्रो बाटो

कोलोराडोखबर संवाददाता , October 3rd, 2026

-सुदीपभद्र खनाल-

लाली घस्दै किरणसँगमा जिस्कने शैलमाला
हाम्रो आफ्नै श्रम र पसिनायुक्त पाखा उज्याला
नेपालीको हिमशिखरको शुभ्र आलोक सिन्धु
मोतीमाला श्रम र सिपको गण्डको स्वेद विन्दु

बग्ने गंगा सुरभित हुँदै दिव्य कैलाशवाट
लाग्ने टुक्रा अमरपुरकै दून वा लेक फाँट
कर्णालीको सुरभि सुरको गानजस्तो सुरम्य
गाढा नाम्पाअपि शिखरको सौम्यता वोधगम्य

लाग्ने ध्यानी ऋषिमुनि स्वयं दिव्य अग्ला पहाड
शोभा भर्ने अनुपम कलायुक्त झर्ना वहाव
खोला नाला हरित वनको मोहनीको छटा छ
त्यस्मा हाम्रो सुयश गरिमा गौरवी जो कथा छ

ज्ञानी धेरै ऋषि, अरनिको शिल्पले सिद्दहस्त
यो धर्तीमै चहक थपिने वुद्दको जन्मप्रस्थ
नेपालीका पृथक गरिमा राजराजेश पृथ्वी
लड्ने सारा सुयश र सिमाना तथा सान नीम्ति

आए धेरै तर कठिनता युक्तिले पार पायौँ
लड्दै बन्दै अजय रणमा वीरगाथा सजायौँ
सीमा सानो तर हृदयले देश हाम्रो विशाल
सच्चा शान्ति स्पृह मनुजता विश्वमै बेमिशाल

सम्झी माटो सहिद तय होस् मार्ग नौलो अगाडि
नेपालीमा कलह नउठोस् सिद्दिने देश भाँडी
हाम्रो गाथा युगयुग बनोस् चम्कँदो सूर्यजस्तै
बोलुन् सारा अरु म पनि हूँ शुभ्र नेपालजस्तै ।

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्