नेपाल । नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित १५ वटा समिति गठन गरेको छ। सभापति गगन थापाको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरिएको छ।
समितिमा उपसभापतिहरू विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्रीहरू प्रदीप पौडेल, गुरुराज घिमिरे तथा उमेश श्रेष्ठ, महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोखरेल र सपना राजभण्डारी सदस्य छन्। प्रताप पौडेल सदस्य सचिव छन्।
महाधिवेशन व्यवस्थापनका विभिन्न समितिको संयोजकमा संस्थापन पक्षमा पछिल्लो समय आएका नेताहरूलाई पनि जिम्मेवारी दिइएको छ। डिना र मीनबहादुर विश्वकर्मा १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। उनीहरू १५औँ महाधिवेशनमा भाग लिएपछि केन्द्रीय सदस्यकै भूमिकामा रहने भन्दै संस्थापन समूहमा आएका हुन्। डिना पूर्व सहमहामन्त्रीसमेत हुन्।
आर्थिक व्यवस्थापन समितिको संयोजकमा उमेश श्रेष्ठ, सूचना–सञ्चार तथा प्रविधि समितिमा प्रवक्ता देवराज चालिसे र सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिमा उदयशमशेर राणालाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, अतिथि स्वागत समितिको संयोजकमा सहमहामन्त्री डिला संग्रौला पन्त, महाधिवेशन समारोहस्थल व्यवस्थापनमा काठमाडौँ जिल्ला सभापति, प्रदेश तथा स्थानीय तहगत समन्वयमा बहादुरसिंह लामा, ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वयमा सुधीर शिवाकोटी र स्वयंसेवक व्यवस्थापनमा गणेश लामालाई संयोजक तोकिएको छ। गणेश लामा पनि पछिल्लो समय संस्थापन समूहमा समावेश भएका केन्द्रीय सदस्य हुन्।
भोजन व्यवस्थापनमा तिलक रानाभाट, आवास व्यवस्थापनमा रमेशप्रसाद धमला, स्वास्थ्य समितिमा डा। केदारनरसिंह केसी, यातायात व्यवस्थापनमा विजयबहादुर स्वाँर र सांस्कृतिक–साहित्यिक संयोजनमा सीता गुरुङलाई जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्