-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडोमा नेपाल मण्डलका आदिवासी नेवा: समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको महान् पर्व इन्द्रजात्रा (येँया पुन्ही) को सबै तयारी पुरा भएको छ ।
कोलोराडो नेवा: खलः (Colorado Newah Khalah) को आयोजनामा आगामी सेप्टेम्बर २७ तारीक आइतबार वेस्टमिन्स्टर स्थित नेपाली साँस्कृतिक केन्द्र नेपाली घरको प्राङ्गणमा आयोजित पाँचौँ संस्करण इन्द्रजात्राको तयारी पुरा भएको अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन् ।
कार्यक्रममा नेवा: समुदायको मौलिक परम्परा अनुसार कुमारीको रथयात्रा सहित विविध सांस्कृतिक प्रस्तुति, लाखे नाच, पुलुकिसि, सांस्कृतिक झाँकी, नेवा: संगीत, सामयबजी (नेवा: परिकार) तथा मण्डला संगीत समुहको साँगितिक प्रस्तुति रहने बताइएको छ ।
इन्द्रजात्रा केवल एउटा उत्सव मात्र नभई “हाम्रो इतिहास, पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सम्पदा” हो । विविध संस्कृतिबीच नेपाली र नेवा: समुदायको मौलिक अस्तित्वलाई जीवन्त राख्न यस्तो कार्यक्रम महत्वपूर्ण रहेको र नेपाली तथा अमेरिकी समुदायलाई कार्यक्रममा सहभागी भई नेपालको समृद्ध नेवा: संस्कृतिको अनुभव लिन अध्यक्ष श्रेष्ठले सबैलाइ अनुरोध गरेका छन्।
उनले अमेरिका जस्तो बहु सांस्कृतिक समाजमा आफ्ना मौलिक परम्परा र संस्कृतिलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न इन्द्रजात्रा जस्ता पर्वहरूको संरक्षण अपरिहार्य रहेको बताएका छन्। नेपाली साँस्कृतिक केन्द्रको प्राङ्गणमा संचालन हने कार्यक्रममा १५ वटा भन्दा बढी खाना तथा बिभिन्न संघ संस्थाका स्टलहरू रहने छन् । सहभागीहरू निशुल्क प्रवेशगरी मनोरञ्जन लिनुको साथसाथै प्रसाद स्वरूप समयबजीको स्वाद चाख्न पाइने उक्त कार्यक्रम मध्यान्ह १२ बजे देखी साँझ ५ बजेसम्म संचालन हुने छ ।
कार्यक्रमलाई लक्षित गर्दै संस्थाले नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको प्राङ्गणमा स्थायी मञ्च निर्माण गरेको छ। मञ्च निर्माणका लागि ४० जनाभन्दा बढीले श्रमदान गरेका छन् भने करिब ५ हजार बराबरको निर्माण सामग्री खरिदगरी निर्माण गरिएको श्रेष्ठले बताएका छन् । नेवा: समुदायका सदस्यहरूको सहभागिता र सहयोगमा निर्माण गरिएको स्थायी मञ्चले भविष्यमा आयोजना हुने सांस्कृतिक तथा सामुदायिक कार्यक्रमका लागि समेत उपयोगी आधार तयार गर्ने अपेक्षा गरिएको छ।
इन्द्रजात्रा केवल धार्मिक उत्सव मात्र होइन; यो नेवा: सभ्यता, कला, संगीत, नृत्य, भोजन, सहअस्तित्व र सामुदायिक एकताको प्रतीक हो। यस अवसरमा प्रस्तुत गरिने लाखे नाच असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ भने पुलुकिसि नाच भगवान इन्द्रको हात्ती ऐरावतको खोजीको कथासँग सम्बन्धित छ। त्यस्तै जीवित देवी कुमारीको रथयात्रा नेवा: समाजमा देवी शक्तिप्रतिको आस्था र सम्मानको अद्वितीय परम्परा हो।
मातृभुमीको हजारौँ वर्ष पुरानो सभ्यता र सांस्कृतिक धरोहरलाई कर्मभुमी अमेरिकामा पुनर्जीवित गर्दै कोलोराडोमा आयोजना हुन लागेको पाँचौँ इन्द्रजात्रा केवल एउटा जात्रा मात्र नभई, आफ्ना जरा, पहिचान र संस्कृतिसँग जोडिने एक साझा उत्सव बन्ने विश्वास गरिएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्