१३ आश्विन २०८३, मंगलवार

ब्लड डोनर्स अफ अमेरिकाद्वारा नेपालका बाढी पीडितहरुको लागि सहयोग हस्तान्तरण

कोलोराडोखबर संवाददाता , September 29th, 2026

अमेरिका । ब्लड डोनर्स अफ अमेरिका (बीडीए) ले नेपालका बाढी पीडितहरुको सहयोगार्थ ८५२२ अमेरिकी डलर सहयोग गरेको छ ।

बीडीएका सदस्यहरुबाट संकलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराइएको बरिष्ठ उपाध्यक्ष टीका पौडेलले जानकारी दिनु भयो ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस योगदानले मानवीय सेवाप्रति BDA को प्रतिबद्धतालाई थप उजागर गरेको छ ।

त्यस्तै BDA का न्यूयोर्क, मेरीलैंड र फ्लोरिडा स्टेट कमिटीहरूले पनि छुट्टाछुट्टै क्रमश: १३००, ११०० र ३००० गरेर ५४०० डलर गरी करीब १४००० डलर अर्थात् नेपाली रकम २१ लाख ५० हजार नेपाल सरकारमार्फ़त रसुवा भोटेकोशी बाढ़िपीड़ीतलाई सहयोग गरेका छन् ।

BDA ले अमेरिकामा नेपाली समुदायलगायत विभिन्न समुदायबीच रक्तदानको माध्यमबाट मानवीय सेवा गर्दै आएको छ । रक्तदान अभियानसँगै विपद्का समयमा आवश्यक सहयोग र मानवीय सेवामा पनि संस्थाले आफ्नो भूमिका विस्तार गर्दै आएको छ ।

ब्लड डोनर्स अफ अमेरिका (BDA) अमेरिकामा बसोबास गर्ने नेपाली तथा अन्य समुदायका बीच रक्तदानको महत्वबारे सचेतना फैलाउन र स्वयंसेवी रक्तदान कार्यलाई अगाडि बढाउन स्थापित एक गैर-नाफामुखी, परोपकारी संस्था हो ।

“रक्तदानबाट जीवन बचाउने अभियानसँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्नु पनि हाम्रो मानवीय दायित्व हो ।”- बरिष्ठ उपाध्यक्ष टीका पौडेलले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्