३० भाद्र २०८३, मंगलवार

पुनर्निर्माणमा स्रोतको कमी हुँदैनः प्रधानमन्त्री शाह

कोलोराडोखबर संवाददाता , September 15th, 2026

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट क्षतविक्षत भएका मानव बस्ती, सडक, पुललगायत भौतिक संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आर्थिक स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बाढी प्रभावित नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यसँग छलफल गर्दै उहाँले सरकारसँग उपलब्ध तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन परिचालन गरी पुनर्निर्माण तथा पुनस्र्थापनाको काम अघि बढाउने बताउनुभएको हो ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीको विपत्मा सङ्घ, प्रदेश र स्थानीय तहबिच तत्काल समन्वय भई उद्धार तथा राहतका काम अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो । प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न जनप्रतिनिधिसँगको छलफल महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री शाहले स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

उहाँले प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई निर्धक्क भएर पुनर्निर्माणमा जुट्न आग्रह गर्दै सडक सञ्जाल र पुलको पुनर्निर्माण तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बाढीबाट प्रभावित नागरिकलाई पूर्ववत् अवस्थामा फर्काउन सडक सञ्जालको पुनस्र्थापना पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट प्रभावित नदी तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताउँदै सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले जोखिमयुक्त तटीय क्षेत्रमा पुनः बस्ती बसाउँदा भविष्यमा थप क्षति हुन सक्ने भएकाले प्रभावित नागरिकलाई नजिकैको सुरक्षित स्थानमा व्यवस्थित रूपमा पुनस्र्थापना गर्नुपर्ने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्