२४ श्रावण २०८३, आईतवार

कविताकृति ‘लोकतन्त्रको अस्मिता’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , August 9th, 2026

नेपाल । ज्योति साहित्य प्रतिष्ठानले कवि मणिराज सिंहको अर्को कविताकृति ‘लोकतन्त्रको अस्मिता’ सार्वजनिक गरेको छ ।

हालै आयोजित कार्यक्रममा अग्रज कवि तुलसी दिवसलगायतले कविताकृति सार्वजनिक गरे ।

कार्यक्रममा प्रमुख अतिथि कवि दिवसले कविताकृतिको साहित्यिक महत्त्व, लोकतान्त्रिक चेतना र समकालीन सन्दर्भमाथि आफ्नो विचार राखे ।

लोकार्पित कृतिमाथि प्राडा भरतकुमार भट्टराईले समीक्षात्मक मन्तव्य राख्दै प्रस्तुत कविताकृति बिम्ब, प्रतीक र अलंकारका दृष्टिले सशक्त भएको बताए ।

कवि शैलेन्द्र साकारले सिंहका कविताहरू सूक्ष्म संवेदना र सौन्दर्यचेतको भएको उल्लेख गरे । डा। तुलसी भट्टराईले शारीरिक अस्वस्थताका बाबजुद सिंह साहित्यिक सिर्जनामा सक्रिय रहेकोमा प्रशंसा गरे ।

कवि डा। विष्णुविभु घिमिरेले सिंहले विम्बप्रधान शैलीका बौद्धिक कविता लेख्दै आएको बताए । कवि उषा शेरचनले कृतिभित्रबाट एउटा कविता वाचन गरिन् ।

कार्यक्रममा कवि मणिराज सिंह, डा. रमेश शुभेच्छु, दिनेशविक्रम थापाले आफ्ना धारणा राखे ।

कविहरू सुनिता अधिकारी, योगाज राजन कविराज, रचिता दाहाल, कल्पना मरासिनी तथा बुद्धिमान महर्जनले सार्वजनिक कृतिबाट एक–एक कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्