नेपाल । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको ‘वेज एण्ड मिन्स कमिटी’का सभापति जेसन स्मिथ नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्यलगायतका साझा चासोका विषयमा गहन विचार आदानप्रदान भएको छ।
सभामुख अर्यालले रसुवा तथा भोटेकोशी बाढीबाट उत्पन्न विपद्का समयमा अमेरिकाले देखाएको ऐक्यबद्धताप्रति धन्यवाद ज्ञापन गरेका छन्। उनले हालै तान्जानियाको आरुषामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ ९आइपियू० को १५३औँ महासभामा नेपालका तर्फबाट प्रस्तुत जलवायुसम्बन्धी आपत्कालीन एजेन्डा दुई तिहाइभन्दा बढी मतले पारित भएको जानकारी गराएका छन्। जलवायुजन्य विपद्को सामना गर्न अनुदानमा मात्र निर्भर नभई आर्थिक तथा प्राविधिक क्षमता भएका राष्ट्रहरूले जिम्मेवारीपूर्वक सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका छन्।
नेपाल–अमेरिका सम्बन्धलाई अनुदानमा मात्र सीमित नराखी लगानी र आर्थिक साझेदारी अभिवृद्धितर्फ अघि बढाउनुपर्ने उल्लेख गर्दै सभामुख अर्यालले लगानीमैत्री वातावरणका लागि आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न प्रतिबद्ध रहेको बताएका छन्। साथै, दुवै देशका संसदीय ककस र संसदीय मैत्री समूहबीचको निरन्तर संवादले संसदीय कूटनीतिलाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरेका छन्।
अमेरिकी प्रतिनिधिमण्डलले भोटेकोशी बाढीका कारण पुगेको क्षतिप्रति सहानुभूति प्रकट गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित रहेको उल्लेख गर्दै प्रतिनिधिमण्डलले नेपालको आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासमा निरन्तर सहयोग गर्न र दुई देशबीचको संसदीय कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्धता जनाएको छ।
उक्त भेटघाटमा प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र संसदीय सुनुवाइ समितिका सभापतिहरूको समेत उपस्थिति रहेको थियो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्