१० कार्तिक २०८३, मंगलवार

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकासे पुल बन्दै

कोलोराडोखबर संवाददाता , October 27th, 2026

नेपाल । ललितपुरको कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माणाधीन लिफ्टसहितको अपाङ्गतामैत्री आकासे पुलको काम अन्तिम चरणमा पुगेको छ ।

मुलुककै पहिलो मानिएको सो अपाङ्गतामैत्री आकासे पुल बढीमा अबको डेढ महिनाभित्र सञ्चालनमा आउने गरी तीव्र गतिमा काम भइरहेको छ ।

ललितपुर महानगरका नगरप्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाको पहल र लगानीमा निर्माण भइरहेको सो पुल बढीमा अबको डेढ महिनाभित्र सञ्चालनमा आउने जानकारी दिनुभयो ।

चक्रपथमा कुनै पनि भौतिक संरचना निर्माण गर्दा सङ्घीय सरकारको अनुमति लिनुपर्ने प्रावधानका कारण अनुमति लिने क्रममा केही ढिलो भएको र यो सङ्घीय सरकारको तत्वावधानमा निर्माण भइरहेको हो कि भन्ने लागेको महानगर प्रमुख महर्जनले स्पष्ट पार्नुभयो । ललितपुर महानगरका पूर्वाधार विभाग प्रमुख इन्जिनियर प्रदीप पौडेलले सो आकासे पुलको निर्माण ८५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सडकको दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ । ह्विलचेयर प्रयोगकर्ता, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी तथा बालबालिकाले बटन थिचेर सजिलै लिफ्टमार्फत पुलमा उक्लिन र ओरालो झर्न सक्छन् ।

त्यसै गरी हिँडडुल गर्न सक्ने साधारण पैदलयात्रीका लागि परम्परागत भर्‍याङसमेत राखिएको उहाँले बताउनुभयो । बलियो र आकर्षक स्टिलको प्रयोग गरी निर्माण गरिएको यो पुलले सहरी सौन्दर्यलाई पनि थप व्यवस्थित बनाएको उहाँको भनाइ छ ।

यो पुल सञ्चालनमा आएपछि सो क्षेत्रको सडक दुर्घटनामा उल्लेखनीय कमी आउने र सडक वारपार गर्न अत्यन्त सहज हुने इन्जिनियर पौडेलले बताउनुभयो । चक्रपथ विस्तारसँगै जथाभाबी बाटो काट्ने क्रममा दुर्घटना भई सो क्षेत्रमा धेरै मानवीय क्षति हुन थालेपछि स्थानीयवासीको मागबमोजिम सो आकासे पुलको निर्माण सुरु गरिएको हो ।

करिब चार करोड ६८ लाख रुपैंयाँको लागतमा सो पुलको निर्माण भइरहेको छ । पुल २०८० फागुनदेखि निर्माण सुरु भएको थियो । सम्झौता अनुसार एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सो पुलको शिलान्यास २०८० फागुन २८ गते भएको थियो ।

प्रतिक्रिया दिनुहोस्