२८ असार २०८३, आईतवार

पशुपतिनाथको मन्दिरमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

कोलोराडोखबर संवाददाता , July 12th, 2026

नेपाल । साउन महिनामा आराध्यदेव भगवान पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।

साउन महिना र सोमबार आशुतोष भगवान शिवको महिना र बार मानिने भएकाले एकै दिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने गर्दछन् ।

भक्तजनलाई सहजरूपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले आजदेखि सफाइ अभियान सुरु गरेको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो दिन शनिबार पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाइ गरिएको छ । यस अभियानलाई आइतबार अपराह्नपछि पनि निरन्तरता दिइने उहाँले बताउनुभयो । आइतबार मूल मन्दिर बन्द भएपछि सूक्ष्म रूपमा सफाइ गर्न लागिएको जनाउँदै यसमा सुरक्षा निकायलाई पनि सहभागी गराइने उहाँले उल्लेख गर्नुभयो । पहिलो दिनको पशुपति क्षेत्रको सफाइमा दर्जन बढी सङ्घसंस्थाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्