नेपाल । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ व्यवस्थापन र पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय गठन गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले काठमाडौँ उपत्यकामा फुटपाथ तथा सडक पूर्वाधार निर्माण गर्दा पैदलयात्री, ज्येष्ठ नागरिक, बालबालिका तथा फरक क्षमता भएका नागरिकको आवश्यकतालाई पर्याप्त प्राथमिकता नदिइएको बताउनुभयो ।
उहाँले सडक निर्माणका क्रममा फुटपाथ उपेक्षामा परेको र भएका फुटपाथसमेत सबै प्रकारका क्षमता भएका नागरिकका लागि सहज रूपमा हिँड्न मिल्ने गरी नबनाइएको उल्लेख गर्नुभयो । सभापति थापाले सडक दुर्घटनालाई घटना भइसकेपछि मात्र विश्लेषण गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्नेमा जोड दिँदै दुर्घटना हुनै नदिने दृष्टिकोणबाट अध्ययन गरिनुपर्ने स्पष्ट पार्नुभयो ।
सभापति थापाले सडक व्यवस्थापन, ट्राफिक सुरक्षा, फुटपाथ, पार्किङ तथा दुर्घटना न्यूनीकरणका विषयमा सम्बन्धित सबै निकायबिच समन्वय गरेर काम गर्ने राष्ट्रियस्तरको अधिकारसम्पन्न संयन्त्र बनाउनेतर्फ सरोकारवाला सबैको ध्यान जान आवश्यक रहेको दोहोर्याउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्