२० असार २०८३, शनिबार

गजलः आगोमा डढिरहँदा मलाई कस्तो भयो होला…

कोलोराडोखबर संवाददाता , July 4th, 2026

-आर. आर. चौलागाईं-
आगोमा डढिरहँदा मलाई कस्तो भयो होला !
बाढीमा बगिरहँदा मलाई कस्तो भयो होला !

अहिले खूब चेपारो घस्छौ मेरो नजिक आएर
भीरमा खसिरहँदा मलाई कस्तो भयो होला !

आफ्नैहरूबाट क्षतविक्षत भएर एकलासमा
भुइँमा ढलिरहँदा मलाई कस्तो भयो होला !

उताकोले मेरो हैन भन्छ अनि यताकोले पनि
बीचमा लडिरहँदा मलाई कस्तो भयो होला !

न त केही भनेको छु न त मैले केही गरेको छु
बित्थामा मरिरहँदा मलाई कस्तो भयो होला !

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्