२० असार २०८३, शनिबार

कविता: हार्नु

कोलोराडोखबर संवाददाता , July 4th, 2026

-लक्ष्मण आचार्य-

हार्नु
यसरी कि
हार्दै जाँदा
हारहरू स्वयम्
हार बनून् जितका
पर्याय बनून्
सङ्गीतका, गीतका, अतीतका

के हार्नु र ?
जुवाडेले सर्वस्व
हारेर आफैँ रित्तिए जस्तो
आफू स्वयमलाई
पोखेर सर्वाङ्ग सिध्दिए जस्तो

हार्नु
प्रेमिकासँग
ताकि प्रेमको सौरभ भेटियोस्
हार्नु सन्ततिसँग
ताकि
उज्यालो भविष्य देखियोस्

नहार्नु
राज नलजस्तो
युधिष्ठर जस्तो
कि,
हारले स्वयम् कलङ्कित नगरोस्
घात प्रतिघात जस्तो
घटना परिघटना महाभारत जस्तो !

-चन्द्रपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्