७ असार २०८३, आईतवार

रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदै

कोलोराडोखबर संवाददाता , June 21st, 2026

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आइतबारदेखि चितवनको सदरमुकाम भरतपुरमा सुरु हुँदैछ । महाधिवेशनको अन्तिम तयारी पूरा भएको रास्वपा चितवनका अध्यक्ष मिनीमाधव खनालले जानकारी दिए ।

महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिएको छ ।

करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा उक्त डोम निर्माण गरिएको छ । यस्तै रास्वपाको ब्यानर, प्लेकार्ड र तोरणले नव विवाहित दुलही झैँ भरतपुर सजिएको छ ।

दिउँसो २ बजे प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले महाधिवेशन संयुक्त रूपमा उद्घाटन गर्नेछन्। महाधिवेशन उद्घाटन कार्यक्रममा राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरूलाई आमन्त्रण गरिएको छ।

देशविदेशका शीर्ष नेता पनि महाधिवेशन उद्घाटन समारोहमा सरिक हुनुहुने रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए।

रास्वपाको महाधिवेशनमा विद्युतीय प्रणालीमार्फत मतदान गराइने भएको छ । निर्वाचन समितिका अनुसार प्रतिनिधिहरूले विद्युतीय उपकरणमा उम्मेदवारको नाम र फोटोमा स्पर्श गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुने छ। निर्वाचित सदस्यबाट पदाधिकारीहरूको निर्वाचन गरिने छ। असार ८ गते दिउँसो २ बजेदेखि मनोनयन प्रक्रिया सुरु गरी सोही दिन साँझ पहिलो चरणको मतदान सम्पन्न गर्ने र त्यसको परिणाम आएपछि भोलिपल्ट पदाधिकारीहरूको चयन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्