-सर्वज्ञ वाग्ले-
मलाई खुट्किलो बनाऊ,
टेको बनाऊ,
भर्याङ बनाऊ।
मलाई यसरी प्रयोग गर्नेहरूसँग
मेरो कुनै गुनासो छैन।
किनकि मैले देखेको छु
महाभारतको युद्ध केवल कुरुक्षेत्रमा मात्र भएन,
त्यो त हरेक युगमा,
हरेक महलमा,
हरेक सिंहासनको वरिपरि दोहोरिरहन्छ।
कसैले धर्मको नाममा चढ्छ,
कसैले न्यायको नाममा उक्लिन्छ,
कसैले आदर्शको झण्डा बोकेर
अरूको काँधमाथि आफ्नो उचाइ नाप्छ।
मलाई खुट्किलो बनाऊ,
तर सम्झ,
खुट्किलाको भाग्य माथि पुग्नु होइन,
अरूलाई माथि पुर्याउनु हो।
मलाई टेको बनाऊ,
जसरी भीष्मले हस्तिनापुरलाई टेके,
तर इतिहासले देखायो
अन्धो निष्ठाले धर्मलाई बचाउन सक्दैन।
धर्म त्यहाँ हुन्छ
जहाँ सत्यको पक्षमा उभिने साहस हुन्छ।
मलाई भर्याङ बनाऊ,
जसरी एकलव्यको औँला
अरूको गौरवको भर्याङ बन्यो।
जसरी कर्णको प्रतिभा
वंश र वर्गको पर्खालमुनि दबियो।
जसरी श्रम गर्ने हातहरू
सधैं कसैको सफलताको आधार बने,
तर सफलताको कथामा
तिनको नाम हरायो।
म गुनासो गर्दिनँ।
किनकि मैले बुझिसकेको छु
शोषणको सबैभन्दा ठूलो शक्ति
पीडितको मौनता हो,
र परिवर्तनको सबैभन्दा ठूलो शक्ति
त्यही मौनताको विद्रोह हो।
मलाई पटक-पटक बोलाऊ,
आवश्यक पर्दा फेरि सम्झ,
फेरि प्रयोग गर,
फेरि उक्ल,
फेरि माथि जाऊ।
तर एक दिन
जब तिमी शिखरमा पुग्छौ,
एकपटक तल फर्केर हेर।
तिमीले टेकेका ती खुट्किलाहरू,
तिमीले चढेका ती भर्याङहरू,
तिमीले उपयोग गरेका ती काँधहरू
तिनै माथि उभिएर
तिमीले आफ्नो महानताको घोषणा गरिरहेका छौ।
धर्म भनेको
अरूलाई कुल्चेर स्वर्ग चढ्नु होइन,
धर्म भनेको
आफू उक्लिँदा
अरूको अस्तित्वलाई पनि सम्मान गर्नु हो।
यदि म खुट्किलो नै हुनुपर्ने हो भने,
म त्यस्तो खुट्किलो बन्न चाहन्छु
जसले मानिसलाई उचालोस्,
तर शोषणलाई होइन।
यदि म भर्याङ नै हुनुपर्ने हो भने,
म त्यस्तो भर्याङ बन्न चाहन्छु
जसले समानताको ढोका खोलोस्,
सिंहासनको अहङ्कार होइन।
किनकि अन्ततः
महाभारतको विजय पनि क्षणिक थियो,
सिंहासनहरू पनि खाली भए,
राज्यहरू पनि ढले।
तर इतिहासले सम्झिरह्यो
त्यसलाई,
जसले धर्मका लागि दुःख सहे,
र त्यसलाई पनि,
जसले अरूको पीडामाथि आफ्नो महल खडा गर्यो।
त्यसैले
मलाई खुट्किलो बनाऊ,
मलाई टेको बनाऊ,
मलाई भर्याङ बनाऊ।
समयले मागेको बेला म कर्तव्यपथमा
भीष्म हुनसक्छु सत्यको बाटोमा उभिने युयुत्सु हुन सक्छु
म अभिमन्यू हुन सक्छु
तर अन्यायसँग सम्झौता गर्न सक्दिन याद राख,
खुट्किलोको पनि इतिहास हुन्छ,
भर्याङको पनि आत्मा हुन्छ,
र जब अन्यायको सीमा नाघ्छ,
त्यही खुट्किलो
एक दिन
नयाँ धर्मयुद्धको पहिलो पाइला बन्छ।
-केन्द्रीय अध्यक्ष, अनेसास ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्