नेपाल । नियात्रा लेखनमा क्रियाशील साहित्यकार विष्णुप्रसाद शर्मा पराजुलीको कथाकृति ‘हिमलुङमा पलाएको माया’ एक कार्यक्रमबीच लोकार्पित भएको छ ।
ठमेलमा सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार प्रमोद प्रधान, श्रीरामसिंह बस्नेतलगायतले कृति सार्वजनिक गरे ।
कार्यक्रममा पाठकीय मन्तव्य राख्दै साहित्यकार प्रमोद प्रधानले साहित्यमा धेरै पछि आएर जोडिए पनि पाठकलाई राम्रा नियात्राकृति पस्कँदै आएका पराजुलीले यस कथाकृतिमा हिमाली समाजको कथा लेखेको बताए ।
यसभित्रका कथाहरू आफैँमा पृथक रहेको उल्लेख गर्दै प्रधानले भने, “हिमाली भेगमा आम मानिसले भोग्नुपरेका अनेक दुःखकष्ट यसभित्र प्रस्तुत कथामा पढ्न सकिन्छ । पढ्दै गर्दा कतिपटक त म भक्कानिएको छु ।”
हिमाली क्षेत्रका नियात्रामा कलम चलाउँदै आएका पराजुलीका तीन नियात्राका पुस्तकसहित पाँच पुस्तक प्रकाशित छन् ।
कार्यक्रममा अर्का वक्ता डा. हरिप्रसाद सिलवालले कृतिकार पराजुलीको नियात्रा जति बलिया छन्, त्यतिकै सशक्त र दह्रो रूपमा कथाकृति पनि आएको बताउँदै कृतिभित्रका कथाहरू अब्बल रहेको चर्चा गरे ।
पत्रकार श्रीरामसिंह बस्नेतले पराजुलीले लेखेका विभिन्न रचनाको आफू प्रारम्भिक पाठक भएको उल्लेख गर्दै उनको लेखनीको प्रसंशा गरे ।
कार्यक्रमको अन्तरक्रियात्मक प्रस्तुतिमा कृतिकार पराजुलीले आफ्नो कथा लेखनबारे बताउँदै आफू मूलतः नियात्राकार नै भएको उल्लेख गरे ।
उनले यात्राका क्रममा आफूले भोगेका कतिपय विषय सन्दर्भले प्रस्तुत हुने बाटोका रूपमा नियात्राभन्दा आख्यान खोजेकाले कथा लेखेको बताए ।
प्रकाशन संस्था भुँडीपुराणका प्रबन्धक केशव पराजुलीले प्रकाशन संस्थाका कठिनाई, पठन संस्कृतिको उत्थानमा सरकारी निकायको उदासिनताबारे बोले ।
कार्यक्रममा छविरमण सिलवालले सुनकोसीले साहित्यका विभिन्न क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै आफूहरूले साहित्य क्षेत्रको जग बलियो बनाउन इटा थप्ने काम गरेको बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्