नेपाल । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीमा अभाव देखाएर कालोबजारी गर्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा पर्न सक्ने प्रभावबारे मन्त्रालयले शुक्रबार सरोकारवाला निकायबिच छलफल गरेको थियो ।
आठ महिनाको बजार माग धान्ने चिनी मौज्दात रहेकाले तत्काल अभाव नहुने मन्त्रालयले जनाएको छ ।
भारत सरकारले आन्तरिक बजारमा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन आगामी सन् २०२६ सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यातमा तत्काल लागु हुने गरी प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मन्त्रालयका अनुसार नेपालका चिनी उद्योगमा रहेको उत्पादन, साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग रहेको मौज्दातले आगामी आठ महिनासम्मको आन्तरिक माग सहजै पूरा हुने भएकाले बजारमा अभाव हुने छैन ।
भारतको नीतिगत परिवर्तनका कारण बजारमा चिनीको कृत्रिम अभाव सिर्जना हुन सक्ने, कालोबजारी हुने वा अस्वाभाविक मूल्यवृद्धि हुन सक्ने भएकाले मन्त्रालयले मातहतका निकायलाई बजार अनुगमन तीव्र पार्न निर्देशन दिएको छ । यदि कसैले अनुचित मौज्दात राखेको वा मूल्यवृद्धि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्