२२ बैशाख २०८३, मंगलवार

पुष्पराज पाण्डेयको कथासङ्ग्रह ‘किनार’ बजारमा

कोलोराडोखबर संवाददाता , May 5th, 2026

नेपाल । साहित्यकार तथा लेखक पुष्पराज पाण्डेयले कथासङ्ग्रह ‘किनार’ बजारमा ल्याउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा सो कथा संग्रहको लोकार्पण गरिएको छ । सो कृति शिखा बुक्सद्वारा प्रकाशन गरी बजारमा ल्याइएको हो ।

कृतिमाथि आफ्नो धारणा राख्दै ‘किनार’ कथासङ्ग्रहका सम्पादक, कवि तथा साहित्यकार सुभाषचन्द्र भण्डारीले ‘किनार’ नेपाली साहित्यिक बजारका लागि एक ओजिलो उपलब्धि भएको बताउनुभयो। पाण्डेयका कथामा सामाजिक यथार्थ र मिथकीय आञ्चलिकताको सन्तुलित सम्मिश्रण रहेको उहाँले बताउनुभयो ।

भण्डारीका अनुसार उत्तरआधुनिक तथा प्रयोगवादी शिल्प संयोजन र सामाजिक प्रतिबद्धताका दृष्टिले समेत ‘किनार’ नेपाली आख्यान क्षेत्रमा नवीन कृतिका रूपमा स्थापित हुनसक्ने सामर्थ्य बोकेर आएको छ। विशेषतः सुदूरपश्चिमेली जनबोलीमा आधारित थारू र डोटेली भाषाको सम्मिश्रण एवम् स्थानीय सांस्कृतिक गहिराइको प्रस्तुतिले कथाशिल्पमा बेजोड मौलिकता थपेको भण्डारीले बताउनुभयो ।

समीक्षक अनुपमा रेग्मीले केही कथाहरूमा ‘कथाभित्र कथा’ संरचना देखिनु यसको आकर्षण रहेको बताउनुभयो । उहाँका अनुसार कृतिमा कथाकारको परिकल्पनाशील शक्ति प्रस्ट रूपमा अभिव्यक्त भएको छ। पत्रकार तथा समीक्षक राजेन्द्र बानियाँले पाण्डेयका कथाहरूले फरक स्वाद र दर्शन प्रस्तुत गरेको बताउनुभयो।

कृतिका लेखक पुष्पराज पाण्डेयले यो आफ्नो पहिलो कृति भएकाले केही कमजोरी हुन सक्ने स्वीकार गर्दै पाठक र समीक्षकका सुझावलाई आत्मसात गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आगामी वर्ष उपन्यास प्रकाशन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

प्रकाशक पुष्पराज पौडेलले उत्कृष्ट कृतिहरू प्रकाशन गर्न शिखा बुक्स सधैँ तत्पर रहेको उल्लेख गर्दै ‘किनार’ लाई अब्बल कृतिका रूपमा बजारमा ल्याइएको बताउनुभयो । पुस्तकको मूल्य ५९५ रूपियाँ रहेको छ। कृति लोकार्पण एवम् अन्तर्क्रिया कार्यक्रम पत्रकार यज्ञराज जोशीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्