नेपाल । रास्वपाले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सरकारलाई सुझाव दिएको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले मुलुकभरको अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न र वास्तविक भूमिहीनको समस्या समाधान गर्न यस्तो सुझाव दिने निर्णय गरेको हो।
पार्टी प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आफ्नो वाचापत्रको बुँदा नंं. ८२ को मर्मअनुरूप असुरक्षित रूपमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्राथमिकता दिएको छ। प्राधिकरणले प्रतिवेदन नबुझाएसम्म वास्तविक सुकुम्बासीका बस्तीमा कुनै पनि कारबाही अगाडि नबढाउन सरकारलाई आग्रह गरिएको छ। साथै, स्थानीय सरकारहरूले आफ्नो क्षेत्राधिकार प्रयोग गरी संरचना भत्काइरहेको सन्दर्भमा पनि सुकुम्बासी व्यवस्थापनको मर्मअनुरूप नै काम गर्न रास्वपाले अनुरोध गरेको छ।
बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विधि ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३’ पारित गरेको छ। उक्त रूपरेखालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’ गठन गरिएको प्रवक्ता झाले जानकारी दिनुभयो।
यसैगरी बैठकले पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गर्नुका साथै ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन कार्यविधि–२०८३’ समेत पारित गरेको छ। सङ्गठन सुदृढीकरणका क्रममा बागमती प्रदेश समितिको सिफारिस बमोजिम रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट समिति गठन गर्ने निर्णयसमेत सचिवालय बैठकले गरेको छ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्