११ भाद्र २०८३, बिहीबार

११ करोडका अवैध सुनसहित ११ जना पक्राउ

कोलोराडोखबर संवाददाता , August 10th, 2025

नेपाल । जिल्ला प्रहरी कार्यालय कास्कीले चलाएको ‘अपरेसन यलो मेटल’ अन्तर्गत झन्डै साढे छ किलो अवैध सुनसहित ११ जना पक्राउ परेका छन्।

पोखराको सुनचाँदी कारोबारमा ‘अवैध’ क्रियाकलाप हुने गरेका गुनासा विगतदेखि नै सुनिने गरेका थिए । त्यसैको गोप्य सूचनाका आधारमा कास्की प्रहरीले ‘अपरेसन यलो मेटल’ अर्थात् पहेँलो धातुको कारोबारमाथिको अनुसन्धान सुरु गरेको थियो ।

सोही क्रममा पोखरामा रहेर वर्षौँदेखि सुनचाँदीको कारोबार तथा डिजाइनको काम गर्दै आइरहेका भारतीय व्यक्तिहरू सुनचाँदी र नगदसहित पक्राउ परेका हुन् ।

यसबारेमा जानकारी दिन शनिवार जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले गण्डकी प्रदेश प्रहरी, कास्की प्रहरी र मातहतका इकाइको संयुक्त टोलीले ११ करोड बढी मूल्य बराबरको धातु र नगदसहित भारतीय व्यक्तिहरूलाई पक्राउ गरिएको बताए ।

केही समयदेखिको गोप्य अनुगमन र अनुसन्धानपछि सुनको धेरै कारोबार हुने गरेको क्षेत्र मोहरिया टोल, तेर्सापट्टी, भैरव टोल र चिप्लेढुङ्गाका पसल तथा सुनको काम गरिने स्थानहरूमा प्रहरीले शुक्रवार साँझ एकै पटक छापा मारेको थियो ।

प्रहरी उपरीक्षक ओलियाका अनुसार पोखरा महानगरपालिका–२, ३, ४ र ९ क्षेत्रमा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचना केही समयअगाडि नै प्रहरीमा आइपुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्