३१ भाद्र २०८१, सोमबार

भीमफेदी बालगृहमा हेटौँडाको उपभोक्ता समितिद्वारा सहयोग

कोलोराडोखबर संवाददाता , January 25th, 2024

नेपाल (हेटौँडा) । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित बालगृहमा पुरानो मकवानपुर रोड सडक, ढल, पेटी निर्माण उपभोक्ता समितिले खाद्यान्न सहयोग गरेको छ ।

हेटौँडा उपमहानगरपालिका २ मा रहेको पुरानो मकवानपुर रोड सडक, ढल, पेटी निर्माण उपभोक्ता समितिले खाद्यान्न अभाव झेल्दै आएका भीमफेदी बालगृहका बालकका लागि बुधबार बालगृह पुगेर सहयोग प्रदान गरेको हो ।

उपभोक्ता समितिले समितिमा रहेको बचतबाट आएको व्याज रकमबाट चामल, दाललगायतका खाद्यान्न बालगृहमा खाद्यान्न अभाव रहेको जानकारी पाएपछि सहयोग गरिएको समितिका अध्यक्ष मञ्जु दाहाल खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार बालगृहमा चामल, दाल, चिउरा, तेल, चना, चिनी, गेडागुडी, अण्डा, नुन, चियापत्तीलगायतका खाद्यान्न ३० हजार रुपियाँ बराबरको सहयोग गरिएको छ ।

उपभोक्ता समितिले दैनिक उपभोग्यका सामग्रीहरु नेपाल बाल सङ्गठन मकवानपुरका अध्यक्ष अशोक सारू मगरलाई हस्तान्तरण गरेको थियो ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा उपभोक्ता समितिका उपाध्यक्ष राजु श्रेष्ठ, सचिव शैलेश मानन्धर, कोषाध्यक्ष अजय मानन्धर, सदस्य श्रीमति कृष्णकला पुडासैनी, सङ्गठनका जीवन तिमिल्सनालगायतको उपस्थिति रहेको थियो ।

बालगृहमा हाल १४ जना बालक रहेका छन् । बाल गृहमा आश्रित बालिकाहरुलाई अन्यत्र रहेको बालगृहमा पठाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्