२१ बैशाख २०८१, शुक्रबार

विचारः गन्तव्य के हो ? लक्ष्य के हो ? जनता जान्न चाहन्छन्

कोलोराडोखबर संवाददाता , January 13th, 2024

–आर.आर. चौलागाईँ–

नेपालमा २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । अहिले ७४ वर्ष बितिसकेको छ । तर अहिलेसम्म नेपालमा कम्युनिस्ट पार्टीले एकलौटी शासन गर्न पाएको छैन । देश जहिले पनि तन्नम छ ।

विश्वभरि कटौरा बोकेर भीख मागिरहेको छ । गरीब भएर गुजारा चलाइरहेको छ । विकास के हो, निकाश के हो अहिलेसम्म नेपाललाई अत्तोपत्तो केही पनि थाहा छैन ।

चीनमा सन् १९२१ जुलाई २३ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । १९४९ अक्टुबर १ मा कम्युनिस्ट पार्टीको एकलौटी शासन अर्थात् जन गणतन्त्र चीनको स्थापना भयो । चीनमा २८ वर्षमै कम्युनिस्ट पार्टीको शासन स्थापना भयो ।

चीनमा कम्युनिस्ट पार्टी स्थापनापछि लालसेना गठन, आधारइलाकाको निर्माण, त्यत्रो लङ मार्च, भीषण लडाइँ, १० वर्षको साँस्कृतिक क्रान्ति आदि सारा व्यहोर्दै व्यहोर्दै चीन अहिले विश्वकै दोस्रो सम्पन्न र शक्तिशाली देशमा दरिन पुगेको छ ।

तर नेपालमा भने ७४ वर्षहरू बितिसके, कम्युनिस्ट पार्टीले आफू हिँड्ने बाटो अहिलेसम्म पनि बनाउन सकेको छैन । बाटोमात्रै बनाउन अझै कति वर्ष लाग्ला ? बाटो कहिले बनाउनु, त्यो बाटोमा कहिले हिँड्नु, कहिले विजय हासिल गर्नु अनि कहिले विकास गर्नु ? सम्झिँदै अत्यास लागेर आउँछ ।

कम्युनिस्ट पार्टीका नेताहरूले जनतालाई अझै कहिलेसम्म झुक्याउने ? जनतालाई अझै कहिसम्म गुमराहमा राख्ने ? कि हात उठाएर हामी सक्दैनौँ भन्नुपर्यो कि सही बाटो बनाउनुपर्यो हैन र ? नेपालमा कम्युनिस्ट पार्टीले हिँड्ने बाटो कुन हो ? पुग्ने ठाउँ कुन हो अर्थात् गन्तव्य के हो ? लक्ष्य के हो ? जनता जान्न चाहन्छन् ।

(फेसबुकबाट साभार)

प्रतिक्रिया दिनुहोस्