नेपाल । रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले सोमबार जनकपुरबाट मेची–महाकाली पदयात्रा सुरु गर्नुभएको छ । जनताका समस्या, गुनासा र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले उहाँले यो यात्रा सुरु गर्नुभएको हो ।
जनकपुरधामस्थित जानकी मन्दिरमा रास्वपा सभापति रवि लामिछानेले पदयात्राको शुभारम्भ गर्नुभयो । त्यस अवसरमा डा. सिंहले नागरिकका वास्तविक समस्या प्रत्यक्ष रूपमा बुझ्न यो पदयात्रा सुरु गरिएको बताउनुभयो ।
उहाँले यो देश र समाजलाई जोड्ने अभियानसमेत भएको उल्लेख गर्दै जात, धर्म, पहाड, मधेस वा वर्गका नाममा कुनै पनि प्रकारको द्वन्द्व हुन नदिन पदयात्रा सुरु गरिएको जानकारी दिनुभयो । डा. सिंहले मेची नदीको किनारबाट सुरु हुने पदयात्रा मकर सङ्क्रान्तिका दिन महाकाली नदीको किनारमा पुगेर सम्पन्न हुने जानकारी दिनुभयो ।
पदयात्राका क्रममा दैनिक पाँच घण्टा हिँड्ने र सात घण्टा जनताका कुरा सुन्ने योजना रहेको सांसद सिंहले सुनाउनुभयो । प्रत्येक २० देखि २५ किलोमिटरको दूरीमा पर्ने गाउँमा पुगेर स्थानीय बासिन्दासँग छलफल गर्ने र आसपासका बस्तीमा समेत पुगेर समस्या तथा सुझाव सङ्कलन गरिने उहाँको भनाइ छ ।
यात्राका क्रममा मजदुर, किसान, महिला, दलित, मुस्लिम, व्यापारी, युवालगायत सबै वर्ग र समुदायका नागरिकसँग प्रत्यक्ष संवाद गरिने बताउँदै डा. सिंहले विशेषगरी रोजगारी, जनजीविका र स्थानीय तहमा देखिएका समस्यालाई प्राथमिकताका साथ सङ्कलन गरिने जानकारी दिनुभयो ।
डा. सिंहले पदयात्राका क्रममा सङ्कलन गरिएका समस्या र सुझावको प्रतिवेदन तीन प्रति तयार गरिने जानकारी दिनुभयो । एउटा प्रति रास्वपा सभापति लामिछानेलाई र अर्को प्रधानमन्त्रीलाई बुझाइने तथा तेस्रो प्रति आफूले राखेर संसद्मा जनताका आवाज उठाउने उहाँको भनाइ छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्