१ मंसिर २०८३, मंगलवार

विदेशमा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा

कोलोराडोखबर संवाददाता , November 17th, 2026

नेपाल । परराष्ट्रमन्त्री शिशिर खनालले टर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुने क्रममा टर्किएको अन्ताल्यामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) टर्किएका अध्यक्ष विनोद पौडेलसँगको भेटवार्ता तथा छलफलका क्रममा परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् ।

त्यस अवसरमा एनआरएनए एनसीसी टर्किएका अध्यक्ष पौडेलले परराष्ट्रमन्त्री खनालसमक्ष विभिन्न विषय समेटिएको ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र ग्रहण गर्दै उनले विदेशमा रहेका नेपाली समुदायका समस्या तथा गुनासालाई समयमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले नेपाली नागरिकलाई प्रभावकारी र सहज कन्सुलर सेवा उपलब्ध गराउने, उनीहरूका गुनासा समयमै सुनुवाइ गर्ने तथा विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।

कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको सहभागिताका क्रममा आवश्यक समन्वय र सहजीकरण गरेकामा इस्लामाबाद, कायरोस्थित नेपाली नियोग तथा एनआरएनए एनसीसी टर्किएको टोलीलाई परराष्ट्रमन्त्री खनालले धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्