१ मंसिर २०८३, मंगलवार

दुई अग्रज सर्जकलाई ‘पवन आलोक नियात्रा सम्मान’ प्रदान

कोलोराडोखबर संवाददाता , November 17th, 2026

नेपाल । नियात्रा समाज नेपालले नियात्रा क्षेत्रका दुई अग्रज सर्जकलाई ‘पवन आलोक नियात्रा सम्मान’बाट प्रदान गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले नियात्राकार घनश्याम राजकर्णिकारलाई ०८२ सालको र नियात्राकार नरेन्द्रराज पौडेललाई ०८३ को ‘पवन आलोक नियात्रा सम्मान’ प्रदान गरे । दुवै सम्मानका साथ नगद राशि ५०५० हजार रुपैयाँ प्रदान गरियो ।

घिमिरेले नेपालमा यात्रा साहित्यको इतिहासको चर्चा गरे । उनले गगनीराज र जंगबहादुर राणाको यात्रा संस्मरण प्रारम्भताका आएको उल्लेख गरे । नियात्राको नामकरण भाषाविद् बालकृष्ण पोखरेलले गरेका भन्दै उनले नियात्राकारहरू राजकर्णिकार र पौडेलसँगका केही स्मृति सुनाए ।

नियात्राकार विष्णु शर्मा पराजुलीले दुवै सम्मानित नियात्राकारको परिचय दिँदै राजकर्णिकारले करिब ६० वर्षदेखि यस क्षेत्रमा कलम चलाएको बताए । पौडेलको पनि साहित्यक यात्राको थालनी ५० वर्ष पुग्न लागेको उनले सुनाए ।

कार्यक्रममा साहित्यकार पवन आलोकले सुरुमा कृति पुरस्कारका रूपमा स्थापना गरिएको बताए । पछिल्ला तीन वर्षदेखि भने यसलाई योगदानका आधारमा समर्पण गर्ने गरी सम्मानस्वरूप स्थापना गरिएको उनले जानकारी दिए । उक्त सम्मान साहित्यकार आलोककी पत्नी रेखा कँडेलले अक्षयकोष खडा गरी स्थापना गरेकी हुन् ।

कार्यक्रममा साहित्यकारहरू अशेष मल्ल, इल्या भट्टराई, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा। डा। लक्ष्मणप्रसाद गौतम, प्रतीक ढकाल, चन्द्रप्रसाद भट्टराई, कृष्ण प्रसाईं, समाजका अध्यक्ष मोहन चापागाईंले सम्मान र सम्मानित व्यक्तित्वका विषयमा बोल्दै दुवै साहित्यका साधक भएको बताए ।

सम्मानित व्यक्तित्व राजकर्णिकारले आफू गौरवान्वित भएको भन्दै आफ्नो लेखन यात्राबारे बताए । पौडेलले पनि यात्राका क्रममा भएका केही रोचक प्रसंग सुनाए ।

प्रतिक्रिया दिनुहोस्