२९ कार्तिक २०८३, आईतवार

सभामुख अर्याललाई नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा प्रमुख आतिथ्यताका लागि निमन्त्रणा

कोलोराडोखबर संवाददाता , November 15th, 2026

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्वअध्यक्षसहितको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेको छ। भेटका क्रममा कतारको दोहामा आगामी डिसेम्बर ११ र १२, २०२६ मा आयोजना हुन लागेको ‘नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६’ मा प्रमुख आतिथ्यताका लागि सभामुख अर्याललाई निमन्त्रणा हस्तान्तरण गरिएको छ।

प्रतिनिधिमण्डलमा पूर्वअध्यक्षहरू डा। उपेन्द्र महतो, जीवा लामिछाने, डा। बद्री केसी, आरके शर्मा र विनोद कुँवर, संस्थापक सदस्य रामप्रताप थापा, वर्तमान कार्यसमितिका उपाध्यक्ष रोजिना प्रधान राई तथा संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र कुमार राउत सहभागी हुनुहुन्थ्यो।

भेटका क्रममा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, गैरआवासीय नेपाली ऐन, नेपालको आर्थिक तथा सामाजिक विकासमा गैरआवासीय नेपालीको योगदान, लगानी, विप्रेषण, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका हकहित तथा संघका समसामयिक विषयमा छलफल भएको थियो। साथै, संघको भावनात्मक एकता र संस्थागत सुदृढीकरणमा विशेष जोड दिइएको थियो।

सो अवसरमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपाली संघ सबै गैरआवासीय नेपालीहरूको साझा संस्था भएकाले यसको एकता, संस्थागत सुदृढीकरण र स्थापनाकालीन उद्देश्यको संरक्षणमा राज्यको अभिभावकीय भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले संघलाई एकताबद्ध र थप सशक्त बनाउँदै अघि बढाउन सभामुख अर्यालबाट आवश्यक अभिभावकीय भूमिका, सहयोग र सहजीकरणको अपेक्षा गरिएको उल्लेख गर्नुभयो। साथै, गैरआवासीय नेपालीका अधिकार, पहिचान र विभिन्न सरोकारका विषयलाई राज्यको नीति तथा कानुनी व्यवस्थामा उचित सम्बोधन गराउन सभामुखको सकारात्मक पहल रहने विश्वास व्यक्त गर्नुभयो।

पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपालीहरूले नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उल्लेख गर्दै उनीहरूका विभिन्न सरोकारका विषयमा नीतिगत सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो। प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष डा। बद्री केसीले गैरआवासीय नेपालीको लगानी र विप्रेषणको महत्वबारे प्रकाश पार्दै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन तथा रसुवा–भोटेकोशी विपद्पछिको राहत र पुनर्स्थापनाका कार्यमा संघले सरकारसँग सहकार्य गरेर अघि बढ्ने विषय राख्नुभयो।

पूर्वअध्यक्ष विनोद कुँवरले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन नहुँदा विदेशमा रहेका नेपालीहरूले भोग्नुपरेका कानुनी तथा व्यावहारिक समस्याबारे सभामुखको ध्यानाकर्षण गराउनुभयो। भेटका क्रममा पूर्वअध्यक्ष आरके शर्माले संस्थाको साझा उद्देश्य र हितका लागि सबै पक्षलाई एक ठाउँमा ल्याउने उद्देश्यले पूर्वअध्यक्षहरूले संयुक्त रूपमा सभामुखलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएको उहाँले बताउनुभयो।

संस्थापक सदस्य रामप्रताप थापाले पनि गैरआवासीय नेपाली नागरिकता, लगानी तथा विशेषगरी युरोपमा रहेका नेपालीहरूमा यसले पारेको प्रभावका विषयमा आफ्नो धारणा राख्नुभयो।

त्यसैगरी, उपाध्यक्ष रोजिना प्रधान राईले संघले हालै देशका विभिन्न स्थानमा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि सञ्चालन गरेका राहत तथा सहयोगका कार्यबारे जानकारी गराउनुभयो। उहाँले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, संघका आगामी कार्यक्रम तथा सरकारसँगको सहकार्यका सम्भावित क्षेत्रबारे पनि धारणा राख्नुभयो।

सभामुखसँगको भेटअघि पूर्वअध्यक्षहरू महेश श्रेष्ठ, रविना थापा र कुल आचार्य तथा वर्तमान अध्यक्ष डा। हेमराज शर्मासँग समेत संवाद र समन्वय गरिएको थियो।

भेटका क्रममा गैरआवासीय नेपाली ऐनलाई गैरआवासीय नेपालीहरूको भावना र अपेक्षाअनुरूप यथाशीघ्र सदनमा प्रस्तुत गरी पारित गर्ने प्रक्रियामा आवश्यक सहजीकरण गरिदिन प्रतिनिधिमण्डलले सभामुखसमक्ष अनुरोध गरेको थियो।

नेपाल भित्रिने कुल विप्रेषणको ५० प्रतिशतभन्दा बढी हिस्सा मध्यपूर्वलगायतका क्षेत्रबाट आउने गरेको उल्लेख गर्दै वैदेशिक रोजगारी तथा स्वरोजगारमा संलग्न लाखौँ नेपाली श्रमिकको हक, हित, सुरक्षा र सम्मानका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। श्रमिकका समस्या र सम्भावनालाई नीतिगत रूपमा सम्बोधन गर्न आवश्यक पहल गरिदिन पनि सभामुखसमक्ष आग्रह गरिएको थियो।

त्यसैगरी, विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालको राष्ट्रिय विकाससँग जोड्ने विषयमा छलफल भएको थियो। साना तथा सामूहिक लगानी र १० अर्ब रुपैयाँको लगानी परियोजनामार्फत नेपालको समृद्धिमा गैरआवासीय नेपालीको सहभागिता र योगदानलाई थप सक्रिय बनाउने विषयमा नीतिगत संवाद अघि बढाउनुपर्नेमा प्रतिनिधिमण्डलले जोड दिएको थियो।

भेटका क्रममा सभामुख अर्यालले एनआरएनए सबै नेपालीको साझा संस्था भएकाले यसलाई बलियो र एकताबद्ध बनाउनुपर्ने धारणा राख्नुभयो। संस्थाभित्र अनावश्यक राजनीतिक गतिविधि हुन नहुने उल्लेख गर्दै उहाँले संघ स्थापनाको पवित्र उद्देश्य र पछिल्लो समय त्यसको व्यावहारिक कार्यान्वयनबीच देखिएको अन्तरले आफूलाई दुःख लागेको बताउनुभयो। संस्थालाई स्थापनाकालीन उद्देश्य र मूल मर्मअनुसार अघि बढाउन उहाँले सुझाव दिनुभयो।

साथै, नेपालको संविधानको भावना अनुरूप गैरआवासीय नेपालीका विभिन्न सरोकारका विषयलाई आफूले सभामुखको हैसियतमा सधैँ महत्व दिने बताउँदै आगामी दिनमा थप छलफल र समन्वयका माध्यमबाट अघि बढ्न सकिने धारणा व्यक्त गर्नुभयो।

सभामुख अर्यालले कतारमा आयोजना हुन लागेको नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको निमन्त्रणाका लागि धन्यवाद दिँदै आफ्नो कार्यव्यस्ततालाई विचार गरी सम्मेलनमा सहभागिताबारे निर्णय गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्