नेपाल । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ । महाधिवेशन आइतबारदेखि अर्थात् असोज १८ देखि २२ गतेसम्म काठमाडौँमा हुँदैछ ।
महाधिवेशन खुलामञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि तयारी भइरहेको पार्टीले जनाएको छ । यतिबेला पार्टीका पदाधिकारी एवं कर्मचारीहरू निकै नै व्यस्त छन् ।
हरेक पटक नेताहरू तथा कर्मचारीहरू बैठकमा रहेको प्रतिक्रिया दिइरहँदा उनीहरू निकै व्यस्त तालिकामा दौडिरहेको बुझ्न सकिन्छ ।
अधिकांश जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू चुनिइसक्दा काठमाडौँ आउने क्रमसमेत चलिसकेको छ । वडादेखि प्रदेशसम्मको चयन, पालिका सभापति र महाधिवेशन प्रतिनिधिमा अधिकांश क्षेत्रमा निर्विरोध चयन गरिएको छ ।
शुक्रबार १५औँ महाधिवेशन तयारीसम्बन्धी पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहर बजारमा रहेका करिब १०० डिजिटल बोर्डबाट महाधिवेशनसम्बन्धी सूचना र सन्देश प्रवाह गर्न शुरू गरिएको बताए ।
केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार महाधिवेशनमा ७ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएको प्रवक्ता चालिसेले बताए ।
उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेतृत्वलाई आमन्त्रण गरिएको छ। हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव श्याम पौडेल सहभागी हुने निश्चित भएको कांग्रेसले जनाएको छ ।
अन्तर्राष्ट्रिय अतिथिका रूपमा सोसलिष्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छिन् । अन्य अन्तर्राष्ट्रिय अतिथिको सहभागिता सुनिश्चित हुने क्रम जारी रहेको चालिसेले बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्