नेपाल । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–०२ एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस अनियन्त्रित भएर सडकबाट नालामा पल्टिएको हो।
दुर्घटना भएको बसमा चालकसहित कुल १८ जना सवार रहेका थिए। यस दुर्घटनामा परी ज्यान गुमाउनेहरूमध्ये जिल्ला जाजरकोटको भेरीगंगा नगरपालिका–०३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी उद्धार कार्य गरेको थियो । बसमा सवार घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा पठाइएको र हाल उनीहरूको उपचार भइरहेको रानाले बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्