-लालगोपाल सुवेदी-
आँखा देऊ
एक पलका लागि
कान देऊ
एक पलका लागि
मन देऊ
एक पलका लागि
फिँजारिएको छ आकाश अनन्त अनन्त
उदासीका लागि स्वर्गै पनि नर्कजस्तो
हाँसी हिड्नेहरूका लागि
काँडाघारीमा पनि वसन्त छ
बगर होइनौ तिमी
रहरलाग्दो रहर हौ तिमी
तन अड्याउने
तिम्रो पनि छ चार हात जिमी
आउनेछन् फूलहरू आँखामा तिम्रो
पत्थर होइनौ तिमी
जहर होइनौ तिमी
गला छ तिम्रो बाँसुरीजस्तै
जब तिमी गीत सुन्छौ
बोली तिम्रो गीतै हुन्छ
तिम्रो आँखामा आउँछ जो
फूल भएर
दुस्मन नभएर मितै हुन्छ
जब देख्छौ काँडामा पनि फूल
मित्र कमाउने रीतै हुन्छ
बोल्यौ भने चरीजस्तै
हरेक वचन गीतै हुन्छ
देखे मनोहर मनका आँखाले
दृश्यपटल सिँगारिन्छ
हृदय आकाश उघारिन्छ
वेद भन्छ
मृत्योर्मा अमृतम् गमय
घडा घडामा अमृत भरिन्छ
आँखा देऊ- उद्यान हुन्छ
कान देऊ – सारंगी रगडिन्छ
तिम्रो हरेक श्वास प्रश्वास
सुगन्ध भएर छरिन्छ ।
-बोस्टन, अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्