-आरसी रिजाल-
मानवहरु कतै समुदाय ,कतै जात, कतै धर्म,कतै देश आदिका नाममा भएको नरसंहार देखेर एउटा मुर्तिकार साह्रै बिरक्तिएको हुन्छ। यस्तै तर्कनामा घोत्लिने कारणले होला एकदिन सपनामा आफैँले निर्माण गरेको ईश्वरलाई देख्छ र भन्छ –” हे भगवान ! तिमी पनि कलाकार म पनि कलाकार। तिमीले म जस्ता असंख्य पुतला बनाएर यो धर्तीमा पठायौ। मैले तिमी जस्ता असंख्य पुतला बनाएर यहि धर्तीमा बेचेँ। तर मलाई त्यतिबेला साह्रै ग्लानी र शरम लाग्छ जब तिमीले बनाएका पुतलाहरु एक आपसमा लडेर अनाहकमा यो सुन्दर मानव चोला विध्वंस पार्छन् । ”
ईश्वरले– ” हे कलाकार! तिमीहरुले म निराकारलाई आआफ्नो धर्म अनुसारको आकारमा ढालेर बहुरुपी बनाएका हौ।”
कलाकारले –” आजसम्म मैले बनाएका मुर्ति ईश्वरको हैनन् त ? के मैले भ्रम बेचिरहेको छु त ? ” भन्यो।
ईश्वरले — ” सहि भन्यौ ! मेरो रुप मलाई नै थाहा छैन्। तिमीहरुले कसरी बनाउन सक्छौ ?” भने।
कलाकारले –” यत्रो चराचर जगतको शृष्टिकर्ता को हो त ” भन्यो।
ईश्वरले भने –” हामी सृष्टिकर्ता होइनौं । आज जुन संसार तिमीहरु देखिरहेका छौ त्यो प्रकृतिको उपज हो। तिमीहरु आदिमकालदेखि विकसित हुँदै आएका मानव हौ “।
कलाकार सोध्यो –” त्यसोभए हाम्रो ईश्वर कहाँ छ ? ”
ईश्वरले –” तिमीहरु भयानक गल्ती गर्दैछौ — घरपरिवारमै रहेको जिउँदो ईश्वरको दर्शन गर्न छाडेर आफैंले बनाएको मुर्तीमा लगेर शिर ठोक्छौ। सारा जिवको जन्म मातापिताबाटै हुन्छ। उहाँहरू नै हो हाम्रो जीवनदाता र पालनकर्ता । अब योभन्दा ठूलो कुन ईश्वर खोज्न भौतारिन्छौ ” भने।
कलाकार झल्यास बिउझन्छ र मातापिताको तस्बिरमा ढोग्न पुग्छ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्