९ श्रावण २०८३, शनिबार

कञ्चनपुरको धनगढीमा आमरण अनसनरत डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो

कोलोराडोखबर संवाददाता , July 25th, 2026

नेपाल । कञ्चनपुरको धनगढीमा आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रदेशिक अस्पताल लगिएको छ ।

धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको अवस्थापछि चिकित्सकको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।

सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका छन् ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न ७ बुँदे माग राखी धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह थालेका डा. केसीलाई मन्दिर व्यवस्थापन समितिले ठाउँ छाड्न पत्र पठाएपछि कठिनाइ उत्पन्न भएको छ।

यसअघि पनि सोही स्थानमा दुईपटक सत्याग्रह गरिसकेका डा. केसीले यस पटक पनि व्यवस्थापन समितिको अनुमति लिएरै सत्याग्रह सुरु गरिएको बताए पनि समितिबाट अचानक पत्र आएपछि उनीहरू अप्ठ्यारोमा परेका छन् र अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिएका छन् ।

डा. केसीले सुदूरपश्चिमको कैलालीमा बन्न लागेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने प्रमुख मागसहित सत्याग्रह सुरु गरेका हुन् । तर त्यहाँका स्थानीय नागरिकहरूले भने उनले विश्वविद्यालयको स्थापनामा अवरोध सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्