नेपाल । सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत श्रव्यदृश्य तथा प्रसारण शाखाले कुनै चलचित्र वा त्यसको कुनै भाग नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सुसम्बन्धमा विरोध पार्ने देखिएमा त्यस्ता चलचित्र प्रदर्शनमा रोक लगाउन केन्द्रीय चलचित्र जाँच समितिलाई अनुमति दिएको छ ।
साथै सरकारले नेपालको शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सम्बन्धमा विरोध पार्ने कथावस्तु भएका चलचित्रलाई मुलुकभित्र प्रदर्शन गर्न अनुमति नदिने जनाएको छ ।
चलचित्र जाँच समितिले जाँचका लागि सिफारिस गर्ने निकाय चलचित्र विकास बोर्डलाई चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८९३० को स्मरणसमेत गराएको छ । उक्त दफामा कुनै चलचित्र वा त्यसको कुनै भाग नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु–सम्बन्धमा विरोध पार्ने देखिएमा त्यस्तो चलचित्रलाई प्रदर्शन गर्न चलचित्र जाँच समितिले अनुमति दिने छैन भनिएको छ । चलचित्र निर्माता, वितरक र सरोकारवालाले ऐनको उक्त प्रावधानलाई पूर्ण रूपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।
केन्द्रीय चलचित्र जाँच समितिका सदस्य मनोज पण्डितका अनुसार मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने चलचित्र प्रदर्शन नगर्ने कुरा केन्द्रीय चलचित्र जाँच समितिको कार्यविधिमा छ । कार्यविधिमा नेपालको छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धमा आँच आउने किसिमका चलचित्र र नेपालको राष्ट्रियतालाई आक्षेप लगाउने खालका चलचित्र प्रदर्शन नगर्न भनिएको छ ।
उहाँले थप्नुभयो, “नेपालले अँगालेको असंलग्न परराष्ट्र नीतिलाई आँच आउने कुनै पनि किसिमका चलचित्रको प्रदर्शनमा रोक लगाइने छ । नेपालले कुनै छिमेकी मित्रविरुद्ध बनेका चलचित्र प्रदर्शन गर्न दिँदैन ।” नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले यी विषय पहिलादेखि नै आएको हुनाले नौलो नभएको र यसबारे छलफल भइरहेको धारणा व्यक्त गर्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्