-लालगोपाल सुवेदी-
नदी संझन्छु
लहरे पीपल संझन्छु
दुबै किनारका फाँटहरू संझन्छु
बगर संझन्छु
रहर संझन्छु
अक्कर संझन्छु
ठक्कर संझन्छु
पहराबाट हाम्फालेर
पछारिएर.. संहालिएर
नदी भएको हुँ म
भिजाउनु छ दायाँ बगर
भिजाउनु छ बायाँ बगर
निदाएको छैन कसै कसै
आँखामा छ लहलह फाँट
आँखामै छ बिराट सभ्यता
अर्को महानगर
निदाएको छैन कसै कसै
गतिशील छु भित्रभित्र
गण्डकी नै हो जिन्दगी पनि
आरोपित गरूँ स्वयंमा गण्डकी- चरित्र
बुझ्दै छु कसरी बन्छ शालिग्राम ?
को हुन् मोतीराम ?
किन समास भयो मोतीमा राम ?
भाषामै फेरिरहेछु सास
भाषाभक्त हुँ म खास
म भक्त हुँ भानुभक्तको
भानुको अर्थ हो सूर्य
सूर्य भन्नु उज्यालो
सूर्य भन्नु ऊर्जा , अपरिहार्य ताप
सम्मान छ भानुभक्तप्रति अगाध
गण्डकीले ढुंगाहरूलाई
कुँदी कुँदी बनाएको हो शालिग्राम
शालिग्राममा झल्किन्छन्’ विष्णु ‘
टल्किन्छन् ‘राम ‘
किन मन पराए भानुभक्तले राम ?
रामसँग छ एउटा परिवार , एउटा समाज
एउटा राम छ अरबको खाडीमा
एउटा राम चलाउँछ गाडी
अँ गण्डकीले ढुंगाहरूलाई कुँदी कुँदी
बनाएको हो शालिग्राम
हेर त देवकोटा ,लेखनाथ , समहरू आए
घिमिरे , मोहन कोइराला र बैरागीहरू आए
भानुले अपहेलित जवजलाई काव्यभाषा बनाए
घरदेशका हामी
र परदेशका हामी
त्यही भाषालाई महाभाषा बनाइरहेछौं
देश देशान्तरले सुन्ने गरी जयगान गाइरहेछौं !
-केन्द्रीय अध्यक्ष, अनेसास ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्